शनिबार, वैशाख १३, २०८२

सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए

नेपालखोज २०८२ वैशाख ३ गते १२:१०

सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ ।

वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो । रेन्जर श्रेष्ठले भन्नुभयो । पर्यटकको आवागमन बढेसँगै खुम्बु क्षेत्रमा व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ ।

हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ छन् । अनुकूल मौसम हुँदा काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौँ पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन् । यद्यपि, मौसम प्रतिकूल हुँदा सोही पर्यटक वैकल्पिक मार्ग रोज्दै काठमाडौँबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेको यातयात व्यवसायी बताउछन् ।

हवाइ र सडक मार्ग सगरमाथा क्षेत्र पुग्ने माध्यम

पहिले–पहिले सगरमाथा पुग्ने एकमात्र प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो । तर हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ । मौसम प्रतिकूल हुँदा हवाइजहाज उड्न नसक्दा वैकल्पिक बाटोको खोजीमा निस्केका पर्यटक जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन् ।

यहाँबाट बोलेरोबाट लुक्ला नजिकैको स्थान सुर्केसम्म यात्रा गर्छन् । निकुञ्ज क्षेत्रमा कार्यरत सवारी चालकदेखि होटल व्यवसायीसम्मले पछिल्लो समयको सडक विकासलाई स्वागत गरेका छन् । अब मौसम खराब भयो भनेर लुक्ला नपुगी फर्कनुपर्ने बाध्यता हटेको पर्यटन व्यवसायी बताउँछन् । लुक्ला-मन्थली तथा काठमाडौँ-लुक्ला हवाइ सेवा प्रभावित हुनसाथ सल्लेरी हुँदै लुक्लाभन्दा केही तलसम्मको स्थान सुर्के जाने विदेशी पर्यटकको सङ्ख्या उच्च हुने गरेको यातायात व्यवसायी रामबहादुर बराइलीले बताए ।

मौसम बिग्रियो भने काठमाडौँबाट सुमो जिपमार्फत आएका विदेशीले सल्लेरी र फाप्लुको होटेल लज भरिभराउ हुन्छ ।” काठमाडौंबाट जिपमार्फत खुर्कोट, घुर्मी हुँदै सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी आइपुगेका पर्यटक सल्लेरीबाट बोलेरोमार्फत सुर्केसम्म पुग्ने गरेका छन् । सल्लेरीभन्दा माथिको बाटो कच्ची भएकाले सुमो जिप नजाने भएकाले बोलेरो प्रयोग गर्ने गरेको सवारी चालक सन्तोष तामाङले बताए ।

लुक्ला नजिकै कच्ची सडक पुगेकाले पर्यटकलाई जहाजको विकल्प भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ९टान०का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए । उपाध्यक्ष शेर्पाले भन्नुभयो । यद्यपि खुम्बु आउन चहाने केही पर्यटक भने मौसमका कारण अन्यन्त्र डाइभर्ट हुने गरेको व्यवसायीको भनाइ छ ।

निकुञ्ज क्षेत्रमा पर्यटकको आगमन उत्साहवर्धक

विसं २०३२ मा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपािलका क्षेत्रमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । कुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो ।

सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिङ्ग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुख पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलले निकुञ्जभित्रको जङ्गललाई अति मनोरम र सुन्दर बनाउँछन् ।

कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमुलगायत १९३ प्रजातिका चरा यस राष्ट्रिय निकुञ्जमा पाइन्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, तथा थामे गुम्बाहरूमा बौद्ध शिक्षा दिइन्छ ।

मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न बर्सेनि हजारौँ पयर्टक यहाँ आउने गर्दछन् । हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ । सगरमाथा क्षेत्रमा पर्यटक आगमनको मुख्य याम फागुनदेखि जेठ र असोजदेखि मङ्सिरसम्म हो ।

नौ महिनामा ४३ हजार पर्यटकद्वारा निकुञ्ज भ्रमण

चालु आर्थिक वर्षको नौ महिनामा ४३ हजारभन्दा धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । निकुञ्जका अनुसार गत साउन महिनादेखि चैतसम्ममा ४४ हजार छ सय आठ जना पर्यटक सगरमाथा क्षेत्र पुगेका हुन् ।

गत साउनमा १२५ जना, भदौमा एक हजार ३९४ जना, असोजमा आठ हजार दुई, मङ्सिरमा चार हजार ३९४, पुसमा एक हजार ७११, माघमा ९४३, फागुनमा दुई हजार ४८७ र चैतमा १२ हजार तीन जना निकुञ्जको चेकपोष्ट जोरसल्लेबाट प्रवेश गरेका रेन्जर विवेक श्रेष्ठले जानकारी दिए ।

पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जले ११ करोड ३२ लाख नौ हजार १०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भ्रमणकर्तामध्ये विदेशी ३७ हजार ७९६ जना र नेपाली पाँच हजार ८९७ जना रहेका छन् । तीन हजार ९९६ जना सार्क राष्ट्रका र ३३ हजार ८०० अन्य देशका पर्यटकले निकुञ्जको भमण गरेका हुन् ।

हाल दैनिक ४०० जनाभन्दा धेरै विदेशी तथा स्वदेशी पर्यटक विभिन्न माध्यमबाट सगरमाथा क्षेत्र पुगिरहेका जनाइएको छ । पर्यटकको लगातार बढ्दो आगमनले सगरमाथा क्षेत्रलाई आर्थिक रुपमा फाइदा पु¥याइरहेको छ तर आम्दानीसँगै पर्यावरणीय समस्या पनि थपिएका छन् ।

प्रतिक्रिया