शनिबार, वैशाख १३, २०८२

म्यान्मा : पाँच हजार कैदीलाई आममाफी

नेपालखोज २०८२ वैशाख ४ गते १५:५९

याङ्गुन । म्यानमाको सैन्य सरकारले नयाँ वर्षको उपलक्ष्यमा करिब पाँच हजार कैदीलाई आममाफी अन्तर्गत बाँकी सजाय मिनाह गरी उनीहरूलाई रिहा गर्ने बिहीबार घोषणा गरेको छ । सन् २०२१ मा म्यान्माको सेनाले त्यहाँको निर्वाचित सरकार र निर्वाचनमा दुई तिहाईभन्दा बढी समर्थन प्राप्त आङ् साङ सूचीको नेशनल लिग फर डेमोक्र्यासी पार्टीका नेता तथा दलका निर्वाचित सांसदलाई नियन्त्रणमा लिई सेनाप्रति बफादार व्यक्तिलाई सरकार प्रमुख बनाएको थियो ।

सेनाको ‘कू’ पछि लोकतान्त्रिक अभ्यासमाथि अङ्कुश लगाउँदै भएको दलविरोधी अभियानले देशलाई बहुपक्षीय गृहयुद्धमा फसाएपछि जुन्टाले हजारौँ प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरेको नागरिक अधिकारवादी समूहहरूले बताएका छन् । म्यान्मामा राष्ट्रिय पर्व वा बौद्ध धर्मसम्बन्धी चाडहरूको अवसरमा आममाफी दिने प्रचलन रहेको छ । आनीबानीमा कुनै समस्या नदेखिएका व्यक्तिका लागि आममाफीको घोषणा गरिन्छ ।

सरकारले अपदस्थ नागरिक नेतृ आङ सान सुचीसहित अधिकांश उच्च–ओहोदाका राजनीतिक कैदीहरूलाई अझै पनि हिरासतमा राखेको छ । जुन्टाले जारी गरेको वक्तव्यमा चार हजार ८९३ जना कैदीलाई राज्य निर्माण प्रक्रियामा सहभागी हुन, जनताको मानसिक शान्तिका लागि र अनुकम्पाका आधारमा माफी दिइने उल्लेख छ । ‘राज्यको तर्फबाट माफी व्यक्त गर्न’ जुन्टाले गम्भीर अपराध गर्नेहरू बाहेक अन्य कैदीहरूको सजाय छ भागको एक भाग घटाइ छुटका लागि योग्य कैदीलाई आममाफी दिइने बताएको छ ।

स्थानीय समयअनुसार बिहान ११ः३० बजे याङ्गुनको इन्सेन जेलको गेटबाट करिब ३० वटा बस बाहिरिएका एएफपी म्यान्मा प्रतिनिधिले जनाएका छन् । बसमा सवार सयौँमध्ये केही ढोकाबाहिर ओर्लिए र आफ्ना प्रियजनको नाम लेखिएको प्लेकार्ड बोकेका आँसुले भरिएका परिवारहरूसँग पुनर्मिलन गरे। जुन्टाले १३ जना विदेशी नागरिकलाई पनि उनीहरूको पहिचान वा अपराधको विवरण नदिई माफी दिने र देश निकाला गरिने बताएको छ ।

यस वर्ष १० देश सम्मिलित आसियान समूहको नेतृत्व गरिरहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमलाई भेट्न बैङ्कक जाने क्रममा जुन्ता प्रमुख मिन आङ ह्लाइङले आममाफीको घोषणा गर्नुभएको हो । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले विगतमा शान्ति योजनामा प्रगति नभएको भन्दै जुन्टाका अधिकारीहरूलाई शिखर सम्मेलनमा भाग लिन प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया