शुक्रबार, वैशाख १२, २०८२

कामना बैंकको नाफा ४९%ले वृद्धि, १९% लाभांश दिने सम्भावना

नेपालखोज २०८२ वैशाख ७ गते १४:०६

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४९ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिभन्दा ४९ प्रतिशत बढी नाफा गरेको हो । गत आवको चैत मसान्तसम्म ३३ करोड १४ लाख रुपैयाँ नाफा गरेको बैंकले यसपालि आधा बढी नाफा गरेको देखिन्छ ।

बैंकको ब्याज आम्दानी र खर्च दुवै घटेपनि खुद ब्याज आम्दानी सुध्रिएको छ । चैत मसान्तमा यस्तो आम्दानी १ अर्ब ६६ करोड छ । यता नोक्सानी व्यवस्थाका लागि बैंकले ३१ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ । बैंकले गत वर्षको सोही अवधिभन्दा ३ करोड कम प्रोभिजन गरेको हो । खर्चतर्फ पनि सन्तुलन कायम गरेको बैंकले नाफालाई बढाउन सकेको हो ।

नाफा बढ्दा कामना सेवाको प्रतिसेयर आम्दानी १८.७३ रुपैयाँ पुगेको छ भने नेटवर्थ १६३.२२ रुपैयाँ छ । ईपीएस गत आवको चैतसम्म १३.४७ रुपैयाँ थियो ।

यता निष्क्रिय कर्जा ४.२७ प्रतिशत पुगेको छ । गत आवको चैतसम्म यस्तो कर्जाको अनुपात ३.५५ प्रतिशत थियो । बैंकको प्राथमिक पुँजीकोष अनुपात भने निकै बढेको छ । गत आवको ९ महिना सकिँदासम्म ९.०३ प्रतिशतमात्र रहेको कोर क्यापिटल अहिले १०.१४ प्रतिशत पुगेको हो ।

कामना सेवाले ६१ अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरी ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप १ वर्षअघिभन्दा करिब ३ अर्ब बढी हो भने कर्जा साढे ३ अर्ब बढी हो ।

नाफा बढ्दा कामना सेवा ९ महिनामै करिब १९ प्रतिशत लाभांश दिन सक्षम देखिएको छ । बैंकसँग करिब ५० करोड रुपैयाँ वितरणयोग्य नाफा छ । जसअनुसार लाभांश क्षमता १८.।९८ प्रतिशत रहेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको हो । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ । सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७०.२७ अर्ब पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ६७.१९ अर्ब रहेको थियो । बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०४.६४५ रहेको छ । बैंकले यो वृद्धि वर्तमान आर्थिक चुनौतीहरूको बीचमा हासिल गरेको हो । ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयहरूका बाबजुद, कामना सेवा विकास बैंकले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम देखिएको हो ।

बैंकले गत साधारणसभावाट अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकवाट सोको स्वीकृती लिई नेपाल धितोपत्र बोर्ड समक्ष स्वीकृतीको लागि पेश गरिसकेको छ । देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया