मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका निर्माण व्यवसायीसँग छलफल गरेका छन् । प्रदेशका दश जिल्लामा वषौँदेखि अधुरै रहेका योजनाको प्रगति निराशाजनक देखिएपछि उनले आज निर्माण व्यवसायीसँग छलफल गरेका हुन् ।
मुख्यमन्त्री कँडेलले प्रदेशका पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, जिल्लास्थित कार्यालय प्रमुखसहित निर्माण व्यवसायीसँग छलफल गरेका हुन् । ठेक्का लिएर वर्षौँसम्म योजना अधुरै छाड्ने कार्य उचित नभएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले काम नगर्ने भए ठाउँ खाली गर्न व्यवसायीसँग आग्रह गरे ।
मन्त्री बुढाका अनुसार कर्णाली प्रदेशका विभिन्न ठाउँमा ३५ योजना अधुरै अवस्थामा छन् । ठूला आयोजना अधुरै रहँदा प्रदेशको विकास निर्माणमा बाधा पुगेकाले सरोकारवाला सबैलाई एकै ठाउँमा राखेर छलफल गरिएको उनले बताए । मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्षको समय अझै बाँकी रहेकाले तीव्र गतिमा काम गर्न व्यवसायीसँग आग्रह गरे । प्रदेश सरकार निर्माण व्यवसायीलाई परेको मर्का र समस्या हल गर्न तयार रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया