गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु

रफाह । बिहीबार गाजा पट्टीमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ । यो जानकारी गाजाका स्वास्थ्य अधिकारीहरू र राहतकर्मीहरूले दिएका हुन् ।
उत्तरी गाजा शहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा बिहान क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ ।
जबालियामा हमास र यसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहादको ‘कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टर’ मा आक्रमण गरेको इजरायल रक्षा बल (आईडीएफ)ले बताएको छ । इजरायलले उक्त ठाउँ आक्रमणको योजना बनाउन प्रयोग भइरहेको बताएको छ ।
जबलियाको अर्द हलावा क्षेत्रमा रहेको एक सर्वसाधारणको घरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले बताएको थियो । आफूले रिपोर्टहरूको बारेमा अनुसन्धान गरिरहेको पनि आईडएिफले भनेको छ । यस क्षेत्रका अन्य स्थानहरूमा २९ जनाको मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया