शुक्रबार, वैशाख १२, २०८२

भूकम्पपछि इस्तानबुलका १ लाखभन्दा बढी मानिसले घर बाहिरै रात कटाए

नेपालखोज २०८२ वैशाख १२ गते १०:४३

काठमाडौं । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले शहरमा ६.२ म्याग्निच्युडको भूकम्प गएपछि परकम्पको डरले १ लाखभन्दा बढी इस्तानबुलका बासिन्दाले आफ्नो घरबाहिर रात बिताएको बताएका छन् ।

बिहीवार इस्तानबुलमा पत्रकार सम्मेलनमा बोल्दै येर्लिकायाले शहरभर मस्जिद, विद्यालय र छात्रावासमा कुल १ लाख १ हजार नागरिकलाई अस्थायी आश्रय प्रदान गरिएको छ । उनले प्रभावितहरूलाई सहयोग गर्न मोबाइल खानपान एकाइहरू र पालहरूमार्फत खाना वितरण गरिएको पनि बताए ।

वातावरण, शहरीकरण र जलवायु परिवर्तन मन्त्री मुरत कुरुमकाअनुसार फातिह जिल्लामा रहेको एउटा परित्यक्त भवन बाहेक शहरमा कुनैपनि आवासीय भवन भत्किएको छैन । स्वास्थ्यमन्त्री केमाल मेमिसोग्लुले भूकम्पको समयमा आतंकित भएर वा भवनहरूबाट हाम फालेर घाइते भएका ६० जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनले पहिले नै बताएका थिए कि जम्मा २३६ जना घाइते भएका छन् र कुनैपनि मृत्युको रिपोर्ट गरिएको छैन । भूकम्पको केन्द्रबिन्दु इस्तानबुलको तटभन्दा ठीक बाहिर मारमारा समुन्द्रमा अवस्थित थियो ।

प्रतिक्रिया