सोमबार, वैशाख १५, २०८२

ट्रम्पको व्यापार नीतिमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै

नेपालखोज २०८२ वैशाख १५ गते १२:३३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिबाट उत्पन्न हुने खतराको सामना गर्न संयुक्त मोर्चा प्रस्तुत गर्न ब्रिक्स देशका वरिष्ठ कूटनीतिज्ञ सोमबार ब्राजिलमा भेट्ने छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापक नयाँ करको प्रभावमा वृद्धिको पूर्वानुमान कटौती गरेपछि विश्व अर्थतन्त्रका लागि यो बैठक महत्त्वपूर्ण क्षणमा आएको हो ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित हालका अध्यक्ष ब्राजिलसहितका व्यापारिक समूहका कूटनीतिज्ञ जुलाई महिनामा हुने नेताको शिखर सम्मेलनको पूर्वतयारीका रूपमा रियो डि जेनेरियोमा दुई दिनका लागि भेट्नेछन् ।

“मन्त्रीहरूले बहुपक्षीय व्यापार प्रणालीको केन्द्रीयता र महत्त्व पुनः पुष्टि गर्ने उद्देश्यले एक घोषणापत्रका लागि वार्ता गरिरहेका छन्”, ब्राजिलका ब्रिक्स प्रतिनिधि माउरिसियो लिरियोले शनिबार पत्रकारलाई बताए ।

सन् २००९ मा यसको स्थापना भएदेखि यो समूह उल्लेखनीय रूपमा विस्तार भएको छ र अहिले इरान, इजिप्ट र संयुक्त अरब इमिरेट्सलाई यसले समावेश गर्दछ । यसले विश्वको जनसङ्ख्याको लगभग आधा र विश्वव्यापी कुल ग्राहस्थ्य उत्पादन (जिडिपी) को ३९ प्रतिशत समेट्छ ।

जनवरीमा ह्वाइट हाउसमा फर्किएपछि ट्रम्पले दर्जनौँ देशमा १० प्रतिशतको सामान्य भन्सार शुल्क लगाएका छ तर चीनले धेरै उत्पादनमा १४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्दैछ । बेइजिङले अमेरिकी वस्तुहरूमा एक सय २५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।

ट्रम्पले ब्रिक्स देशहरूले अमेरिकी डलरलाई कमजोर पारेमा एक सय प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिए । ब्राजिलका विदेशमन्त्री माउरो वियेराले रूसका विदेशमन्त्री सर्गेई लाभरोभ र चीनका विदेशमन्त्री वाङ यी लगायत अन्य मन्त्री उपस्थित हुने बैठकको आयोजना गर्नेछन् ।

यो बैठक बिहान ११ः०० बजे (१४०० जिएमटी) तिर सुरु हुने अनुमान छ र अपराह्नमा एक वक्तव्य जारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया