गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा-मुग्लिन सडक विस्तार अन्तिम चरणमा

गण्डकी । निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा-मुग्लिन यात्रा गर्न पाउने भएका छन् ।
निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । पचास वर्षअघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा-जामुने)मा ५०.३४ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार कूल ४१ दशमवल ४५ किमी दूरीको उक्त खण्डमा तीन किमि मात्र कालोपत्र हुन बाँकी छ ।
पूर्वी खण्डमा पर्ने १७ साना-ठूला पक्की पुल गत वर्ष नै निर्माण भएको इञ्जिनियर पाण्डेले बताए । तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको उनको भनाइ छ । कोभिड महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय तीव्र गतिमा सडक निर्माणको काम भएको इञ्जिनियर पाण्डेले बताए । पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । उक्त खण्डको ठेक्का रकम छ अर्ब २१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले आगामी जेठ पहिलो साताभित्र उक्त खण्डमा एकतर्फी (दुई लेन)मा कालोपत्रको काम सकिने बताए । कूल ३८ दशमलव ८८ किमि दूरीको उक्त खण्डमा हालसम्म ३५ दशमलव ५ किमि एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको उनको भनाइ छ ।
कास्कीको अमरसिंह, चाउथे, विजयपुर, तालचोकलगायत क्षेत्रमा एकतर्फी कालोपत्र हुन बाँकी छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि सेती पुलसम्म एकतर्फी कालोपत्र भइसकेको आयोजना प्रमुख कुँवरले जानकारी दिए । आगामी पुससम्म ठेक्काको म्याद रहेकाले उक्त अवधिमा कालोपत्र सक्ने गरी कामलाई गति दिइएको उनको भनाइ छ ।
कालोपत्र सकिएपछि फुटपाथ, सडक सुरक्षालगायतका काम सुरु हुने उनले बताए । पश्चिम खण्डमा १८ दशमलव ५ किमि दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक बन्नेछ । पश्चिम खण्डका १२ वटा पुलमध्ये १० वटा बनिसकेका छन् । कास्कीको विजयपुर र तनहुँको शेराटारमा पुल निर्माणको काम भइरहेको छ ।
पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत काम भइरहेको आयोजना प्रमुख कुँवरले बताउनुभयो । उक्त पुलको भौतिक प्रगति ४४ दशमलव ६६ पुगेको उहाँको भनाइ छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
भ्याटबाहेक ९४ करोड रुपैयाँको ठेक्कामा आकर्षक पुल बन्न लागेको हो । तनहुँको जामुनेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्डको ठेक्का पाएको थियो ।
दुवै खण्डका अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भइसकेकाले पोखरा–मुग्लिन सडक यात्रा सहज बन्दै गएको छ । दुईतर्फी नै कालोपत्र सकिएपछि पोखरादेखि काठमाडौँ, नारायणगढलगायतका गन्तव्यको यात्रा अझ धेरै छोटिने छ । कूल ८१ किमि दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणलाई गति दिन पोखराका पर्यटन व्यवसायीलगायतले दबाब दिँदै आएका थिए ।
गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आउजाउ गर्दा धूलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य हुनेछ ।
प्रतिक्रिया