रुसका लागि लडिरहेका ६०० उत्तर कोरियाली सैनिक मारिए

सियोल । प्योङयाङले मस्कोलाई सहयोग गर्न सेना तैनाथ गरेको आधिकारिक पुष्टि गरेपछि युक्रेनविरुद्ध रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएको र हजारौँ घाइते भएको सियोलका एक सांसदले बुधबार बताएका छन् ।
‘अहिलेसम्म उत्तर कोरियाली सैनिकहरूको हताहती अनुमानित चार हजार सात सय रहेको छ, जसमा करिब छ सय जनाको मृत्यु भएको छ’, संसद्को गुप्तचर समितिका सदस्य सांसद ली सेओङ–क्वेनले देशको जासुसी एजेन्सीद्वारा दिइएको ब्रिफिङपछि पत्रकारहरूलाई भने ।
उत्तर कोरियाले सोमबार पहिलो पटक रुसमा सेना तैनाथ गरेको पुष्टि गरेको छ । सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रूसी सीमावर्ती क्षेत्र कुर्स्कमा युक्रेनी नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको रिपोर्ट गरेको छ ।
सियोल र वासिङ्टनले प्योङयाङलाई सहयोगका लागि थप सेना र हतियार पठाएको आरोप लगाए पनि दुवै देशबाट महिनौँको आधिकारिक मौनतापछि मस्कोले उत्तर कोरियाको सहभागितालाई छुट्टै पुष्टि गरेको थियो ।
यस वर्ष करिब दुई हजार सैनिकलाई आणविक हतियार भएको उत्तर कोरियामा फिर्ता लगिएको लीले बताउनुभयो । उनीहरूलाई अहिले प्योङयाङ र देशभरका अन्य स्थानहरूमा एकान्तवासमा राखिएको बताइएको छ । रासस/एएफपी
प्रतिक्रिया