तीर्थरामलाई सम्झनुपर्ने यसकारण

काठमाडौं । सरल जीवन नै सादा जीवन हो । सरल जीवन सरस हुन्छ र यसले नै जीवनलाई सुन्दर बनाउँछ । उच्च विचारले मानिसलाई दैनिक कर्तव्यबोध गराई कर्तव्य परायण बनाउने मात्र होइन, जीवनलाई सरल ढङ्गबाट जिउने कला पनि सिकाउँछ । विश्वका धेरै आदर्श विद्वान, दार्शनिकहरु जस्तै राजनीति र सामाजिक क्षेत्रमा लागेका कतिपय व्यक्तिले पनि यही बाटोलाई पछ्याएका हुन्छन् । हाम्रै समाजमा पनि कतिपय यस्ता मानिस छन्, जसले राजनीतिलाई नाम र दाम कमाउने माध्यम नबनाएर जनताको सेवालाई नै केन्द्रमा राखेर साधारण जीवनयापन गरिरहेका छन् । यस्तै व्यक्ति हुनुहुन्थ्यो तीर्थराम डङ्गोल ।
उनै डङ्गोल आज हामीबीच हुनुहुन्न । जीवनको अन्तिम घडीसम्म पनि उनीको निष्ठा र स्वाभिमानमा कुनै दाग लागेन । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका उनको सिनामङ्गलस्थित केएमसी अस्पतालमा यही वैशाख १३ गते निधन भएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र शालिन व्यक्तित्वका पर्याय थिए उनी । सादा जीवन र उच्च विचारका पर्याय मानिनु हुने उनका तिनै गुणहरुले नै उनलाई जीवन्त तुल्याउनेछ ।
२०२६ सालमा त्रिचन्द्र कलेजमा भर्ना भएदेखि नै मैले उनलाई चिन्ने र सङ्गत गर्ने अवसर पाएँ । उनीभन्दा म उमेर र पढाइले ‘सिनियर’ भएका कारण उनी मलाई दाजुको रुपमा हेर्नुहुन्थ्यो । मैले नै उनलाई नेपाल विद्यार्थी सङ्घमा लाग्न प्रेरित गरेको थिएँँ । उनी विद्यार्थी सङ्गठनमा लागेदेखि नै जुझारु हुनुहुन्थ्यो । २०३४ सालमा उनी नेवि सङ्घको काठमाडौं जिल्ला सभापति बने । पछि नेपाली कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापतिको जिम्मेवारी कुहलतापूर्वक निर्वाह गरेका थिए ।
विसं २०४३ सालमा भएको स्थानीय निर्वाचनलाई पार्टीले उपयोग गर्ने नीति बनायो । स्थानीय तहलाई कब्जामा नलिएसम्म केन्द्रीय सरकारलाई कमजोर बनाउन सजिलो हुँदैन भन्ने सोचले नै सो चुनावको उपयोग गर्ने नीति लिइएको थियो ।काठमाडौंलगायत विभिन्न जिल्लाका स्थानीय तहमा कांग्रेस समर्थक नेता कार्यकर्ताले चुनावमा भाग लिएका थिए र अधिकांश स्थानमा विजय पनि भएका थिए । त्यतिबेला काठमाडौं नगर पञ्चायतमा मैले नै हरिबोल भट्टराईलाई प्रधानपञ्च र डङ्गोलजीलाई उपप्रधानपञ्चमा उम्मेदवार बनाउन प्रस्ताव गरेको थिएँँ ।
चुनाव वैशाख-जेठतिर हुन गइरहेको थियो । गणेशमानजीले एकदिन मलाई बोलाएर हरिबोलजी त बोल्न प्रखर हुनुहुन्छ तर तीर्थरामजीले कसरी जनतालाई ‘कन्भिन्स’ गर्नुहोला भनेर भन्दा मैले जातीय सन्तुलन मिलाउन र युवाको आकर्षणका लागि तीर्थरामजी सक्षम हुनुहुन्छ भनेर आश्वस्त तुल्याएको थिएँ । नभन्दै लैनचौरमा आयोजित चुनावी सभालाई उनले गरेको भाषणले निकै ताली पायो । सम्बोधनमा उनले गाईजस्तै पवित्र र हवाइजहाज जस्तै तेज गतिमा विकासका कामलाई अगाडि बढाउने भनेर भनेका थिए । गाई हरिबोलजीको चुनाव चिन्ह थियो भने हवाइजहाज तीर्थरामजीको चुनाव चिन्ह । पछि यो भाषणको चर्चा गणेशमानजीले पनि थाहा पाउनु भएछ, मलाई बोलाएर तपाइँको उम्मेदवार छनोट राम्रो लाग्यो भनेका थिए । निर्वाचनमा उनीहरु दुवैजना विजय भए ।
विसं २०१९ पुस १ मा शाही घोषणाबाट २०१५ सालको संविधानलाई खारेज गरी नेपालको संविधान, २०१९ जारी गरियो, जहाँ सम्पूर्ण अधिकार राजामा थियो । प्रजातन्त्र अपहरण भएको पुस १ गतेलाई नेपाली कांग्रेसले कालो दिनको रूपमा मनाउने भनेको थियो । त्यसैदिन संविधान दिवस मनाउने पञ्चायती सरकारको निर्णयलाई प्रजातन्त्रवादीले मान्ने कुरा भएन । हरिबोल र तीर्थरामजीले पनि संविधान दिवसलाई बहिस्कार गरे । त्यसवापत उहाँहरु दुवैलाई पक्राउ गरी जेल चलान गरियो ।
उक्त व्यवस्थाको विरोध गरेकाले उनीहरु निलम्बनमा परेका थिए । हरिबोल झण्डै आठ-नौ महिना जेल बस्नुभयो भने तीर्थरामलाई करिब एक वर्ष जेलमा राखियो । पार्टीका शीर्ष नेताले वहिस्कार नगरी बिरामी परेको बहाना बनाउन सल्लाह दिँदा पनि उनीहरुले घोषणा गरेरै बहिस्कार गरेका थिए । यसरी उनमा पद र सत्ताको कुनै लोभ थिएन, प्रजातन्त्रका अगाडि अरु कुरा गौण हुन्थ्यो ।
जनमत सङ्ग्रह, सत्याग्रमा पनि उनको सक्रिय सहभागिता रहेको थियो । २०४६ सालको आन्दोलनमा पनि उनी निकै सक्रिय रहे । २०५६ सालमा भएको आम निर्वाचनमा उनी काठमाडौंको तत्कालीन क्षेत्र नं ७ बाट विजय भए । निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्र वहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा काठमाडौं जिल्लाका सभापतिको हैसियतले काठमाडौं जिल्लाबाट उनले जनआन्दोलनको नेतृत्व गरेका थिए ।
उनी २०६४ मा संविधानसभाको सदस्य थिए । यसैबीच उनी एकपटक स्वास्थ्य राज्यमन्त्री पनि बने । नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा विभिन्न सङ्घर्ष र आन्दोलनका क्रममा उनले पटक–पटक जेल जीवनसमेत बिताउनु भएको थियो । स्वर्गीय डङ्गोलले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । लोकतन्त्रको रक्षा र ऐतिहासिक आन्दोलनमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई गणेशमान शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा प्रदान गरिने स्वर्ण पदकले उनी सम्मानित भएका थिए ।
उनलाई स्मरण गरिरहँदा २०३४ सालमा काठमाडौंको जैसीदेवलमा भएको बम विष्फोटको घटना पनि सम्झनलायक हुन्छ । यस घटनालाई प्रयागसिंह बम काण्ड पनि भन्ने गरिन्छ । प्रयागजी पहिला कांग्रेसकै , स्नातकको तर्फबाट सांसद मनोनयन भएका उनी पछि पञ्चायतमा लागे । त्यतिबेला पार्टीले सरकारका मन्त्री सहभागी भएका कार्यक्रम भाँड्ने नीति लिएको थियो । प्रयागजी झण्डा हालेर जैसीदेवल नजिकै टोलमा कार्यक्रममा गएर फर्किंदै थिए, त्यही क्रममा शिवप्रसाद बराल (उनलाई उपनाम शिव कङ्काल भनेर चिनिन्गथ्यो)सहितका साथीहरुले मन्त्रीको गाडीलाई लक्षित गरी बम प्रहार गरे । गाढीमा साभान्य क्षति भएपनि उनलाई केही भएको थिएन ।
पार्टीका शीर्ष नेताको निर्देशनमै वनारसबाट बम झिकाई पड्काइएको थियो । त्यस घटनामा आशंका लागेका भन्दै प्रहरीले जैसीदेवल टोलका धेरैलाई पक्राउ गर्योमा मसहित उहाँलगायत धेरै साथीलाई प्रहरीले पक्राउ गर्यो । स्थानीय एक युवकले बम पड्केको आफूले सुनेको र यसबारेमा आफूले तीर्थरामलाई भनेको भन्ने वयानको आधारमा उनलाई पक्राउ गरियो । म धादिङमा भएको भएपनि नेता भएका कारण मलाई पनि पक्राउ गरियो । केही समय हामीसँगै जेलमा बस्यौँ ।
बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई शीर्षस्थानमा राखेर राजनीतिमा होमिएका डङ्गोल कहिल्यै विचलित हुनु भएन । राजनीतिमा विजय र पराजयलाई सामान्य रूपमा लिने उनी पराजयबाट कहिल्यै अताल्लिनु भएन । झण्डै छ दशक लामो निष्ठाको राजनीतिक यात्रामा रहेका उनीसँग जीवनभरको सम्पत्ति भनेकै निर्दाग चरित्र, पारदर्शिता, शान्त स्वभाव र दृढ आत्मविश्वास नै थियो । समाजवादी जीवनशैली, आचरण, बेदाग चरित्र आदर्शभाव नै उनीको परिचय बनेको छ । नेपाली राजनीतिमा जुझारू नेताका रुपमा चिनिनुहुने उहाँले कांग्रेसका सिद्धान्तलाई सधैँ आत्मसात गरिरहे ।
राजधानीको साधारण परिवारमा जन्मे हुर्केर राजनीतिलाई समाजसेवाको पर्याय ठान्नुहुने उनी त्याग, समर्पण, निष्ठा र सरल अनि सादगी जीवनका लागि कहिँकतै चुक्नु भएन । पछिल्लो समय राजनीतमा मौलाउँदो नातावाद, भ्रष्टाचार र विलासी जीवनले उनीलाई कहिल्यै छोएन । साधारण पहिरन, सादगी भोजन र सबैसँग आत्मिय व्यवहार गर्नसक्ने उनको जीवनशैली देख्ने सबैले उदाहरणको रुपमा लिने गर्दछन् ।
जननायक वीपी कोइरालाको आदर्श भनेकै राजनीति देश र जनतामुखी हुनुपर्छ भन्ने थियो । तर आज हरेक राजनीतिक पार्टीका नेताहरुमा आफू केन्द्रित प्रवृत्ति हाबी भएर गएको छ । यस्तो बेलामा पनि उनले वीपीको त्यो आदर्शलाई बचाइराखेका थिए । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भए पनि दलका नेतामा असलभन्दा हाम्रा मान्छेको खोजी गर्ने मनस्थिति कायम गरेको अवस्थामा काठमाडौं जिल्ला पूर्वसभापति डङ्गोलले समूह, नातावाद र कृपावादबाट माथि उठ्न शीर्षनेतालाई पटक–पटक सचेत गराएको स्मरण गराउँदै आएका थिए ।
विसं २००४ सालमा काठमाडौंको साधारण किसान परिवारमा जन्मेका उनी जीवनपर्यन्त साधारण भएरै रहनुभयो । घरमा गाईपालन गरी दूध बिक्री गरेर परिवार चल्दै आएको थियो । कलेज पढ्न आउँदा होस् वा पछिसम्म राजनीतिक कार्यक्रममा आउँदा पनि एउटै साधारण पहिरनमा देखिनुहुन्थ्यो । उनको निधनले निष्ठाको अविरल राजनीतिक यात्राको एउटा यात्रुको सङ्ख्या मात्र घटेन, समाजलाई निष्ठा, इमान्दार र सादगी जीवनको उदाहरणको दीप पनि निभ्यो ।
उनको निधनबाट नेपाली कांग्रेस पार्टीले एक निष्ठावान कार्यकर्ता मात्रै गुमाएन सरल र सादगी जीवनका एक प्रेरणादायी राजनीतिज्ञ पनि गुमाएको छ । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उनले सल्काएर राखेका निष्ठाको दियो निभ्न नदिनु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ । (प्रस्तुत विचार नेपाली काग्रेसका नेता गौतमसँग राससका कृष्ण अधिकारीले गरेका कराकानीमा आधारित)
प्रतिक्रिया