शुक्रबार, वैशाख १९, २०८२

जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ : उपराष्ट्रपति यादव

नेपालखोज २०८२ वैशाख १८ गते २०:११

कीर्तिपुर (काठमाडौं) । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनको असरलाई सम्बोधन गरी प्रभाकारी कार्यान्वयनमा जान नेपालले अन्तरराष्ट्रियस्तरबाटै साथ पाउनुपर्ने बताएका छन् ।

जलवायु परिवर्तनमा नेपालले आफूले नगरेको गल्तीको सजाय भोग्नुपर्ने स्थिति रहेको उपराष्ट्रपति यादवले बताए । जलवायु परिवर्तनका गम्भीर असर देखिन थालेको उल्लेख गर्दै उनले भने, ‘तराईमा पानीका स्रोतहरु सुक्दै छन् र नेपालसहित नदीका तल्लो तटीय क्षेत्रका करिब दुई अर्ब जनता जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ ।’

नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्न प्रतिबद्धता गरेको स्मरण गर्दै उपराष्ट्रपति यादवले यसका लागि विश्व समुदायबाट वित्तीय र भौतिक सहयोग आवश्यक भएको बताए । कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानले जलवायु परिवर्तन अब न्यायिक मुद्दा बन्न पुगेको बताए ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनका कारण नेपालको विकास लक्ष्य प्राप्तिमा प्रतिकूल असर परिरहेको बताए । यसलाई सम्बोधन गर्न नेपालले कार्बन नियमावली २०८२ ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए । सरकारले जलवायु परिवर्तनबारे विश्वकै ध्यानाकर्षण गर्न ‘सगरमाथा संवाद’ आयोजना गरेको र यसलाई सफल पार्न मन्त्री शाहीले आग्रह गरे ।

नेपालका लागि राष्ट्रसङ्घीय प्रतिनिधि हाना सिङ्गर हम्दीले हिमालको काखमा रहेको नेपालले जलवायु परिवर्तनको असरसम्बन्धी न्याय सबभन्दा पहिले पाउनुपर्ने बताए ।

प्रतिक्रिया