शनिबार, वैशाख २०, २०८२

सुदूरपश्चिम प्रदेश : प्रदेश निजामती सेवा ऐन र सङ्घीय निजामती ऐनसँग बाझियो

नेपालखोज २०८२ वैशाख १९ गते २१:१०

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेश निजामती सेवा (प्रथम संशोधन) ऐन, २०७९ सङ्घीय निजामती सेवा ऐन, २०४९ सँग बाझिएको छ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आज विभिन्न सेवा, समूह, उपसमूहका अधिकृत सातौँ तहका प्राविधिक पदमा विज्ञापन गरेसँगै प्रदेश र सङ्घीय ऐन बाझिएको स्पष्ट भएको हो ।

आज प्रकाशित विज्ञापनमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा र कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा, आन्तरिक प्रतिस्पर्धा, अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने उल्लेख छ ।

जसअनुसार ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवातर्फ ३९ जना, कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा ४७ जना, आन्तरिक प्रतिस्पर्धा, अन्तरतह र खुला तथा समावेशीतर्फ एक सय ४४ गरी जम्मा दुई सय ३० जनाको स्थायी पदपूर्ति गरिनेछ ।
पदपूर्तिका लागि आह्वान गरिएका मध्ये सबैभन्दा बढी ६२ जना प्रदेश वन सेवा जनरल फरेष्ट्रितर्फ रहेको छ । जसमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवातर्फ १२, कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा १३, आन्तरिक प्रतिस्पर्धा तीन, अन्तर तह तीन र खुला तथा समावेशीतर्फ ३१ जना रहेका छन् । यसअनुसार बढुवाबाट २५ जना र प्रतिस्पर्धाबाट ३७ जना माग गरिएको छ ।

सङ्घीय निजामती सेवा ऐनको दफा ७ (च) अनुसार राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत सातौँ तह) का लागि ७० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट तथा ३० प्रतिशत बढुवा (ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन) द्वारा पदपूर्ति गरिने व्यवस्था रहेको छ । यससँग बाझिने गरी सुदूरपश्चिम प्रदेश निजामती सेवा (प्रथम संशोधन) ऐनको दफा ९ (घ) अनुसार ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट तथा ४० प्रतिशत बढुवा (ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन, कार्य क्षमताको मूल्याङ्कन), ५ प्रतिशत अन्तरतह प्रतियोगिता र ५ प्रतिशत आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गरिने व्यवस्था रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले निजामती सेवासम्बन्धी कानुन पारित गरी लागू गरेपछि सङ्घीय निजामती कानुनसँग बाझिने व्यवस्था सार्वजनिक भएका छन् । प्रदेश लोक सेवा आयोगले हालै प्रकाशित गरेको विज्ञापनले यो विषयलाई झनै विवादास्पद बनाएको छ । नेपालको संविधान धारा ५७ (६) अनुसार प्रदेश, स्थानी सभाले कानून बनाउँदा सङ्घीय कानुनसँग नबाझिने गरी बनाउनुपर्ने र बाझिएको हदसम्म अमान्य हुने स्पष्ट प्रावधान छ ।

संविधानविद् डा भीमार्जुन आचार्य भने, प्रदेश कानुन सङ्घीय कानुनसँग बाझिने गरी बनाउनु हुँदैन । संविधानको धारा १३३ ले प्रदेशसभाले बनाएको कुनै कानुन सङ्घीय संसद्ले बनाएको कानुनसँग बाझिएमा मर्का पर्ने पक्षले बाझिएको कानुन बदर गरी पाउँ भनी सर्वोच्च अदालतमा निवेदन दिन सक्ने र त्यस्तो कानुन वा कुनै भाग बदर हुने व्यवस्था रहेको छ ।

डिभिजन वन कार्यालय कैलालीमा कार्यरत रेन्जर नवराज उपाध्यायले सङ्घीय निजामती ऐनसँग बाझिने गरी सुदूरपश्चिम प्रदेशले बनाएको ऐनको कार्यान्वयनले कर्मचारीहरूमाझ अन्योल, असमानता र विभेदको स्थिति सिर्जना भएको बताए । उनले भने, सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐनको दफा २३ को उपदफा ६ मा समायोजित सङ्घीय कर्मचारीलाई पाँच वर्षमा दुई तहमाथिको बढुवाका लागि योग्य हुने भन्ने व्यवस्था विवादित विषय बनेको छ ।

प्रतिक्रिया