शनिबार, वैशाख २०, २०८२

मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल

नेपालखोज २०८२ वैशाख १९ गते २१:३०

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ दिल्लीमा जलविद्युत् विकास सङ्गठन, (एनएचपीसी) लिमिटेडका अधिकारीसँग पश्चिम सेती जलविद्युत् परियोजना निर्माणका विषयमा छलफल गरेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका मुख्यमन्त्री शाह र भारतको जलविद्युत् विकास सङ्गठनका अधिकारीबीच पञ्चेश्वर जलविद्युत् आयोजना, बेतन कर्णाली, फुकोट कर्णाली, मुगु कर्णाली आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदनका बारेमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री नेतृत्वको टोलीले र भारतको ‘नेश्नल स्किल डेभलपमेन्ट कर्पोरेशन’ कम्पनीका अधिकारीसँग प्रविधिमैत्री सीप विकास क्षमताका बारेमा छलफल गरेको छ । सूचना प्रविधिको युगमा डिजिटलमैत्री प्राविधिको विकास गरी जनतालाई आत्मनिर्भर बनाउँन सकेमा राष्ट्रलाई टेवा पुग्ने विश्वास लिइएको छ ।

मुख्यमन्त्रीको टोलीले कृषि अनुसन्धान केन्द्रसँगको भेटमा नेपालमा आधुनिक कृषि क्षेत्रको विकासका बारेमा छलफल गरेको छ । मुख्यमन्त्री शाह र भारतका विदेश राज्यमन्त्री कीर्तिवर्द्धन सिंह बीचको भेटमा दुई देशबीचको आपसी घनिष्ट सम्बन्धका बारेमा कुराकानी भएको छ ।

विदेश राज्यमन्त्री सिंहले आयोजना गर्नुभएको दिवा भोजमा मुख्यमन्त्री शाह सरिक भयो । उनीहरूबीच टनकपुर—ब्रह्मदेव ब्यारेजमा आवागमन सहज बनाउन, दार्चुलामा निर्माणाधीन पुल छिटो निर्माण गर्न, बैतडी र डडेलधुरामा पुल निर्माण प्रक्रिया चाँडो सुरू गर्ने, तिकुनिया—खक्रौलासम्मको सडक छिटो निर्माण गर्ने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया