सुपथ मूल्यका औषधि उपलब्ध गराउन सहजीकरण समिति गठन

काठमाडौं । नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन सहजीकरण समिति गठन गरिएको छ ।
लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजललगायतका औषधि बिक्री नभएको गुनासोपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यक छलफल गरी समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले सरकारी नियमअनुसार तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि बिक्री सहजीकरणका लागि आवश्यक पहलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीसँग आज छलफल गरेका थिए ।
उक्त बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेडलगायतका अधिकारी रहने गरी समिति गठन गरिएको हो । अब समितिको सुझावका आधारमा आवश्यक निर्णय गरेर अघि बढिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।
यसअघि छलफलका क्रममा स्वास्थ्यमन्त्री पौडेलले आमनागरिकलाई सुपथ मूल्यमा उपलब्ध गराउन लिमिटेडबाट निरन्तर उत्पादन हुन जरुरी रहेको बताए ।
उनले सरकारी स्वास्थ्य संस्थामा अनिवार्य उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधिका लागि उद्योगबाट खरिद गर्न सकिने विकल्पबारे गृहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, महाप्रबन्धक कैलाशकुमार पनेरुसमेत सहभागी थिए । -रासस
प्रतिक्रिया