बिहीबार, जेठ २, २०८२

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

नेपालखोज २०८२ जेठ १ गते १७:२६

काठमाडौं । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहसमेतको बेरुजु १२ खर्ब ८४ अर्ब रूपैयाँ नाँघेको छ ।

आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख रूपैयाँ बराबर बेरुजु थपिएको छ ।

महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख रूपैयाँ बराबर छ । अद्यावधिक बेरुजु गतवर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ ।

त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम पाँच खर्ब ५१ अर्ब एक करोड रूपैयाँ गरी कुल १२ खर्ब ८४ अर्ब २० करोड रूपैयाँ बराबर पुगेको हो । यसरी हालसम्मको कुल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड रूपैयाँ नाघेको हो ।

अद्यावधिक बेरुजुतर्फ सङ्घीय सरकारी कार्यालयकोतीन खर्ब ७५ अर्ब ४७ करोड रूपैयाँ, प्रदेश सरकारी कार्यालयको ३० अर्ब ४८ करोड १९ लाख रूपैयाँ, स्थानीय तहको दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख रूपैयाँ र समिती तथा अन्य संस्थाको एक खर्ब १७ अर्ब ९४ करोड रूपैयाँ बराबर रहेको छ ।

प्रतिक्रिया