‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो’

काठमाडौं । जलवायु परिवर्तनका प्रभाव घटाउन क्रियाशील विभिन्न क्षेत्रका विज्ञले हिमाल हिमाल जीवनशैलीका प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व भएकामा जोड दिएका छन् ।
सगरमाथा संवादको दोस्रो दिन आज ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा उनीहरुले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपररिहार्य भएकामा जोड दिएका हुन् ।
हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म संस्कृति र रहनसहन, वन्यजन्तु, जैविक विविधता र पर्यटनका लागि पनि हिमालको संरक्षण गर्नुपर्नेमा विज्ञहरुले जोड दिए ।
विश्ववन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले प्रमुख वक्तव्य दिनुभएको थियो भने अक्सफामका नदी बेसिन प्रबन्धक राजन सुवेदी, ओमानका सगरमाथा आरोही नाधिरा अल-हार्थी, युगान्डाको जल तथा वातावरण मन्त्रालयका सहायक आयुक्त मौरीन अनिनो, सगरमाथा प्रदूषण नियन्त्रण समिति प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले आफ्ना अनुभव र विज्ञतासहित धारणा व्यक्त गरेका छन् ।
हिमाली क्षेत्रले पृथ्वीको २२ प्रतिशत भाग ओगटेको छ । हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीले विश्वका करिब आधा जनसङ्ख्याको जीविकोपार्जनमा सहयोग गर्दै आएको जनाइएको छ ।
हिन्दूकुश हिमालय क्षेत्र, यसको अद्वितीय र विविध संस्कृति, भाषा, धर्म, विश्वास, एक हजारभन्दा बढी भाषा र परम्परागत ज्ञान प्रणालीले वार्षिक रूपमा सात करोडभन्दा बढी पर्यटकलाई आकर्षित गर्दछ ।
हिमाली पारिस्थितिकीय प्रणालीको अखण्डतालाई सुदृढ गर्ने नवीन समाधान पहिचान गर्ने, धेरै जनसङ्ख्यालाई लाभ पुर्याउन प्राकृतिक पुँजीमा लगानी बढाउने तरिकाहरू अन्वेषण गर्ने उद्देश्यसहित यो सत्र सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया