७ खर्बको कारोबार गर्दै आएको सहकारीमा तरलताको अभाव
काठमाडौं । सहकारी विभागले केही समयअघि तरलता बढेको प्रतिवेदन सार्वजनिक गरेपनि सहकारी अभियानले तरलता अभाव भएको पुष्टी गरेका छन् ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको अनुसार कोरोना महामारीको समयमा धेरै सहकारीलाई तरलताको अभाव भएको छ । ‘तरलताको अभाव परेका सहकारीको बास्तविक तथ्याङ्क आउन सकेको छैन’ उनले भने । सहकारी हकहित राष्ट्रिय समाजले सहकारीको तरलतामा परेको असरका बिषयमा आयोजना गरेको भर्चुचल कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले सहकारीमा तरलताको समस्या व्यवस्थापन गर्नका लागि सहकारी बैंक र नेफ्स्कूनबीच सहकार्य गर्ने सहमती भएको बताए । ‘सहकारीले तरलताको अभाव भएको बैंक तथा छाता संघलाई समेत भन्न हिचकिचाउने गरेका छन्’ उनले भने,‘तर वास्तविकरुपमा सहकारीमा तरलता अभाव देखिएको छ ।’
बन्दाबन्दी तथा निषेधाज्ञाका कारण पेशा, ब्यापार, व्यवसाय, उद्योगलगायतका आर्थिक क्रियाकलाप ठप्प भएको छ । सहकारीमा कर्जा लगानीको तुलनामा बचत बढेको छ । अध्यक्ष उप्रेतीले आर्थिक क्रियाकलाप सुचारु भएपछि सहकारीमा अझ तरलताको समस्या बढ्नसक्ने बताए । सहकारीले बचतकर्ता सदस्यले मागेको समयमा निक्षेप भुक्तानी गर्न सकेका छैनन् । ‘सहकारीले जोखिमरहित ठाउँमा तरलता राखेर बचतकर्ता सदस्यले निक्षेप फिर्ता मागेको समयमा भुक्तानी दिनुपर्छ’ उनले भने । सहकारीले तरलताको रकम बाणिज्य बैंक, छाता संघ लगायतका विभिन्न संस्थामा छरेर राख्ने गरेकाले पनि सहकारी क्षेत्रमा समस्या बढ्दै गएको छ ।
सहकारी विभागका अनुसार करिब ३५ हजार सहकारी छन् । सहकारीले ७ खर्बको कारोबार गर्दै आएको छ । कुल ग्राहस्थ उत्पादननमा ४र५ प्रतिशत योगदान दिएको छ । अध्यक्ष उप्रेतीले सहकारीको पैसा गैरसहकारी क्षेत्रमा राख्ने गरेकाले सहकारीले सधैँ समस्या झेल्नुपरेको बताउँछन् । सहकारीमा ६३ लाख सदस्य छन् भने यसले प्रत्यक्षरुपमा एक लाखलाई रोजगारी दिएको सहकारी विभागले जनाएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारीलाई तरलता अभाव भएको अवस्थामा सहयोग गर्न सहकारी बैंक र नेफ्स्कूनले सहकार्य गरेर एक–एक अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको बताए ।
राज्यले सहकारीलाई बेवास्ता गरेका कारण पनि सहकारीले तरलता अभाव खेप्नुपरेको सहकारीका अभियान्ताहरु बताउँछन् । बैंक तथा वित्तीय संस्था बचाउन नेपाल राष्ट्र बैंकले १ अर्बको कोष व्यवस्था गरेको छ । अध्यक्ष पौड्यालका अनुसार सहकारीमा तरलता अभाव हुन नदिन सरकारसँग समन्वय गर्न खोजिएपनि राज्यले सहकारीलाई बेवास्ता गरेको बताए । पछिल्लो समयमा सहकारीको पैसा सहकारीमा राख्नुपर्ने बहस सुरु भएको छ । सहकारी संस्थाले बैंक, नेफ्स्कून र जिल्ला बचत संघमा र सदस्यले संस्थामा पैसा राख्न थालेको अध्यक्ष पौड्यालले बताए । सहकारीमा उत्पन्न हुनसक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न नेफ्स्कून र सहकारी बैंक सहकार्य गर्दै छन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईले अहिले समुदायमा आधारित र ब्यवसाय केन्द्रित सहकारीमा भन्दापनि लहैलहैमा खोलेका संस्थामा तरलता समस्या देखिएको बताए । ‘केही सहकारीले लकडाउन बढे हुन्थ्यो, संस्था बन्द भईरहे सदस्यलाई बचत फिर्ता गर्नुपर्दैन थियो भन्ने मनोकामना राखेको पाइयो,’ उनले भने । उनका अनुसार ललितपुर जिल्लामा ७ देखि १० प्रतिशत सहकारी संस्था लहैलहैमा खुलेका छन् । सहकारी विभागले गत असारमा कोभिड १९ ले सहकारी क्षेत्रमा पारेको प्रभावबारे संक्षिप्त अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार आर्थिक गतिविधि सुस्त हुँदा तरलता बढेको प्रतिवेदन सार्वजनिक भएको थियो । तर सहकारीका नेतृत्वले तरलता बढेको नभई अभाव भएको बताउन थालेका छन् ।
प्रतिक्रिया