प्राधिकरणबाट कुलमानको बिदाई हुँदै
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति नहुने तय भएको छ । उनको ४ वर्षे कार्यकाल यही भदौ २९ गतेदेखि सकिएको थियो ।
यतिबेला घिसिङको नियुक्तीलाई लिएर राजनीतिक किचलो शुरु भएको छ । उनको पुनः नियुक्तिलाई लिएर सोमबार बिहान समेत प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । सोमबारको मन्त्रिपरिषद्को बैठकमा कुलमानको पुनः नियुक्ति हुन नमिल्ने कानून भएको जनाएको छ । ऊर्जा मन्त्रालय स्रोतले समेत पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको बताएको थियो । मन्त्रिपरिषद्को बैठकको अन्त्यतिर ऊर्जा मन्त्रीले प्रधानमन्त्रीलाई मेरो एउटा प्रस्ताव थियो नी भनेका थिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार ‘ऊर्जामन्त्रीले त्यसो भन्दा प्रधानमन्त्रीले कानूनी कुरा मिलेको छैन, विचार गरेर हेरौला भन्दै टारेका थिए ।’
मंगलबार प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक घिसिङको बिदाई कार्यक्रम राखिएको छ । प्राधिकरणका अनुसार आज मध्यान्न उनको बिदाई कार्यक्रम राखिएको छ । उनका अनुसार कोरोनाको जोखिमका कारण बिदाई समारोह सामान्य मात्रै गर्न खोजिएको बताइएको छ ।
घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेको र लोडसेडिङ हटाएर आम नागरिकका लागि प्रिय बनेका कुलमानको पुनः नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ ।
प्रतिक्रिया