बुधबार, असार ४, २०८२

प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा नचल्ने

नेपालखोज २०८२ जेठ १३ गते १७:३८

काठमाडौं । संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंका अंगरक्षक दिपक खड्का सहित ९ जनाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको छ । उनीहरू विरुद्ध पर्याप्त प्रमाण नभेटिएको भन्दै हाललाई मुद्दा नचलाउने निर्णय गरिएको हो ।

मुद्दा नचलाउने निर्णय पाउनेहरूमा दिपक खड्का, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, एनी (अनिता)कुँवर, शिशिर जिसी, खेमराज सेढाई, मिनोज थापा र अनिल बस्नेत छन्।

सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले दिपक खड्का सुरक्षागार्डको हैसियतमा काम गरिरहेको मात्र देखिएकाले उनको संलग्नता प्रमाणित नभएको बताए। एनी कुँवरको हकमा पनि घटनास्थलमा देखिएपनि आपराधिक गतिविधिमा संलग्नता पुष्टि नभएको जनाइएको छ।

उनीहरूलाई छाड्न आदेश दिइसकिएको र प्रहरीमार्फत ९ जनालाई रिहा गरिएको हो। यससँगै प्रहरीले १०८ जनामध्ये ६१ जनाविरुद्ध मात्रै मुद्दा दर्ता गरेको छ भने ४ जना नाबालक विरुद्ध बाल अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ।

प्रतिक्रिया