अमेरिकी सहायता रोक्का हुँदा ५० हजारभन्दा बढी बंगलादेशी नागरिकको रोजगारी गुम्यो

काठमाडौं । बंगलादेशमा युएसएआइडीको सहयोगमा सञ्चालित ५९ मध्ये ५५ वटा कार्यक्रम बन्द हुँदा विकास क्षेत्रमा रोजगारी गुमेको छ भने ५० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् ।
एशोसिएसन अफ बेरोजगार विकास व्यवसायी (एयूडीपी) की संयोजक जिनत आरा अफ्रोजले मङ्गलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा याे जानकारी दिएका हुन् ।
एक लिखित वक्तव्य पढेर सुनाउँदै उनले यी परियोजना र सम्बद्ध परियोजनामा संलग्न ५० हजारभन्दा बढी पेशेवरले रोजगारी गुमाएको र देशले ७० करोड अमेरिकी डलर बराबरको विकास सहायता गुमाएको बताए ।
उनले तत्काल एयूडीपीसँग वार्ता गरेर समस्याको समाधान खोज्न माग पनि गरे ।
यूएसएआईडी बंगलादेशले जनवरी २५ मा आफ्ना परियोजना कार्यान्वयन साझेदारलाई लेखेको पत्रमा भनिएको छ, ‘अन्य देशसँगै एजेन्सीले बंगलादेशमा करार, कार्य आदेश, अनुदान, सहकारी सम्झौता वा अन्य सहायता वा खरीद उपकरण अन्तर्गत कुनै पनि काम तत्काल बन्द वा निलम्बन गर्ने घोषणा गरेको छ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय युएसएआइडीको आर्थिक सहयोगसम्बन्धी कार्यक्रम पुनरावलोकन गर्न सबै देशलाई दिइने विकास सहायता ९० दिनका लागि स्थगन गर्ने कार्यकारी आदेश जारी गरएका थिए ।
प्रतिक्रिया