लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२५ असन डेरा गरी बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-३ घर भएका २८ वर्षीय प्रदीप राईलाई नियन्त्रित लागू औषध ट्राम डोल ५२ ट्याब्लेटसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागू औषध फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ५४० मिलिग्राम सहित बाँके बजैनाथ गाउँपालिका-८ टिटिहिरिया बस्ने ३० वर्षीय राम सुरेन्द्र चौधरी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ यरीचोकस्थित जयलक्ष्मी फार्मेसीबाट नियन्त्रित लागू औषध ट्राम डोल २४७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त फार्मेसीका सञ्चालक सोही ठाउँ बस्ने ५४ वर्षीय रमेश बहादुर शाही, २५ वर्षीय हिक्मत जङ्ग शाही र वीरेन्द्रनगर नगरपालिका- बस्ने २५ वर्षीय प्रलाद अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले रमेशले संचालन गरेको जयलक्ष्मी फार्मेसी तलासी गर्दा उक्त लागू औषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५४० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २८ वर्षीय सुशान राई र धनकुटा शहिदभूमी गाउँपालिका-२ घर भएका ३२ वर्षीय कुसुम राई रहेका छन् । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिका-३ सामा दैजीबाट लागू औषध अफिम जस्तो देखिने पदार्थ ५८० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २३ वर्षीय विनोद सार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवनको कालिका नगरपालिका-६ क्लब चोकबाट नियन्त्रित लागू औषध आइपिएल १६ पिस, फेनारगन ६ एम्पुल र डाईजेपाम ५ एम्पुलसहित सोही ठाउँ बस्ने २५ वर्षीय अमृत बोम्जनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खोलेसीमलबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित प्याराडाईज होटेलबाट अवैध लागू औषध अफिम जस्तो देखिने पदार्थ १ किलो ७०६ ग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला गुठिचौर गाउँपालिका-४ प्याकुरेलवाला बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोट बारेकोट गाउँपालिका-३ मुल्साम बस्ने ३२ वर्षीय भक्त बहादुर शाही रहेका छन् । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त होटेलको १०५ नम्बरको कोठा तलासी गर्दा उक्त लागू औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने रोल्पा थवाङ गाउँपालिका-१ थवाङ घर भएकी ६३ वर्षीय माया देवी विकलाई लागू औषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ८२० ग्राम, चरेश जस्तो देखिने पदार्थ ५३ ग्राम र नगद ९ हजार ३०० रुपैयाँसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागू औषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया