जुनार शीतभण्डार र जुनार उद्योग एक दशदेखि बन्दहुँदा किसान समस्यामा

कमलामाई (सिन्धुली) । अहिले जसरी जिल्लालाई सडक सञ्जालले जोडिसकेकै थिएन । किसानले १० हजार टन जुनार उत्पादन गर्न थालिसकेका थिए । त्यतिबेला जुनार बगैँचालाई बजारसँग जोडिदिन नसक्दा रसिला फल बोटमै कुहिन्थे । न त बगैँचाको जुनार बजारमा पुग्थ्यो, न त किसानले मेहनतको मूल्य पाउँथे । सडक नहुँदा जुनार ढुवानी नै सम्भव हुन्थेन ।
महाभारत क्षेत्रमा फैलिएको जुनार बगैँचामा किसानको पसिना बगेको हुन्थ्यो । हरेक वर्ष हजारौँ टन फल टिपिए पनि ती फलले बजार पाउन सकेका थिएनन् । किसानलाई जुनारको फल उत्पादनले उत्साह दिन्थ्यो, तर बजारले निराशा । बजार खोज्दै किसान डोकोमा जुनार बोकेर माडीबजारसम्म धाउँथे । दिनै खर्चेर माडीबजार झार्दा पनि थोरै बिक्थ्यो, बाँकी सबै कुहिएर सकिन्थ्यो । शीतभण्डार (कोल्डस्टोर)को अभाव थियो ।
विसं २०६३ मा सिन्धुलीको कमलामाई –४ दोभानटारमा जुनार शीतभण्डार भवन निर्माण थालियो । आवश्यक प्रक्रिया पूरा गरेर २०६७ सालमा शीतभण्डार सञ्चालनमा ल्याइएको जुनार केन्द्रीय सहकारी सङ्घका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए । जुनार उद्योग सञ्चालन कार्यसमितिका सदस्यसमेत रहनुभएका कोइरालाले भने, दुई वर्ष कोल्डस्टोर सञ्चालन गर्दा रु २५ लाख नोक्सान व्यहोर्नुपर्यो ।
पहिलोपटक सञ्चालनमा ल्याइएका शीतभण्डारमा जिल्लामा उत्पादित जुनार र अन्यन्त्रबाट आलु ल्याएर राखिएको थियो । तर, उचित तवरले प्राविधिक व्यवस्थापन गर्न नसक्दा कुहिएर घाटा व्यहोर्नुपरेको उनले स्मरण गरे । विसं २०६९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनियाँ सरकारले खरिद गर्ने सम्झौता भयो ।
चीन सरकारको गुणस्तर सुपरीवेक्षण निरीक्षण र क्वारेन्टाइनसम्बन्धी सामान्य प्रशासन तथा नेपाल सरकारको कृषि विभागबीच सन् २०१२ मा नेपालबाट चीनतर्फ सुन्तला जातका फलफूल निर्यातका लागि सम्झौता भएपश्चात जिल्लामा उत्पादित जुनारलाई शीतभण्डारमा राख्ने र प्याकिङ गरेर पठाउने तयारी गर्न थालियो । यसका लागि नेपालका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरूको पेसागत हकहित संरक्षण एवं उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्यले स्थापित सिन्धुली उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँग सहकार्य भयो ।
‘पार्टनरसीप’मा जुनार उद्योग भवन निर्माण भयो । उद्योग सञ्चालनका लागि आवश्यक मेसिन तथा औजार सामग्री जडान गर्नुका साथै आवश्यक व्यवस्थापन मिलाउन तीन वर्ष लाग्यो । उद्योग सञ्चालनमा ल्याउन सकिने अवस्था भएपछि जुनार किसानसँग प्रतिकेजी २५ का दरले उद्योगले जुनार किन्ने सम्झौता गर्यो । उनले भने, किसानसँग दुई हजार टन जुनार लिने सम्झौता गरिएको थियो । उद्योगले दुई सय टनमात्र प्राप्त गर्यो ।
जुनारमा रोग कीराको समस्या देखियो । जुनारको फल उत्पादन घट्यो । त्यसबेलासम्म बिपी राजमार्ग सञ्चालनमा आइसकेको थियो । राजमार्ग सञ्चालनमा आएसँगै उत्पादित जुनारले बजार पाउन थालिसकेको थियो । उद्योगमा जुनार झनै आउन छाड्यो । यता, जुनारमा देखिएको रोग कीरा सङ्क्रमणका कारण जुनार निर्यात गर्न सकिएन । विशेषगरी सिन्धुलीको जुनार चीन पठाउन सरकारले त्यस्तो सम्झौता गरे पनि हालसम्म पठाउन सकिएको अवस्था छैन ।
प्रतिक्रिया