सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो ।
अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताए । उनका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको ९९० मिटर काम सकिएको छभने लाइनिङको एक हजार १२६ मध्ये ६६० मिटर काम सकिएको हो ।
इन्जिनियर ज्ञवालीले बाइपास-१ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको जनाउँदै बाइपास–३ मा ‘इन्भर्ट’ को काम सुरु भएको बताउनुभयो । बाइपास–१ मा १५१ मिटर रहेकामा १४५ मिटर र लाइनिङको ११८ मिटर काम भइसकेको उनले उल्लेख गरे ।
यहाँ यथाशीघ्र भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने उनले जानकारी दिए । त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण गरिने उनको भनाइ छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग विसं २०७९ देखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । विसं २०८३ मा सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताए ।
यसअघि पहिरोका कारण क्षति ब्यहोर्नाका साथै त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्री सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि खुसी भएका छन् । यो खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म सवारीसाधान आवतजावत गर्दछन् ।
यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति हुने गरेपछि सुरुङमार्ग निर्माण थालिएको हो । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।
बजेट सुनिश्चित भएपछि काम तीव्र गतिमा भइरहेको इन्जिनियर ज्ञवालीले उल्लेख गरे । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस खण्डका लागि रकम विनियोजना गरेपछि समयमा काम सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।
सरकारले पाल्पा–सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि दुई अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपछि काम समयमा सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको स्थानीय गोविन्द्र पोखरेलले बताए ।
स्थानीय गम्भीर रायमाझीले कतिपय निर्माणाधीन आयोजनाहरू बजेट अभावमा अलपत्र परेका उदाहरण रहेका भन्दै सरकारले यस खण्डलाई प्राथमिकतामा राख्नु हाम्रा लागि खुसीको विषय भएको बताउनुभयो । बजेट विनियोजनले सुरुङमार्गको काम निर्धारित समयमा सकिने भन्दै सुरुङमार्ग सम्पन्न भएपश्चात् आवागमन सहज हुने धारणा राखे । रासस
प्रतिक्रिया