शनिबार, जेठ ३२, २०८२

दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

नेपालखोज २०८२ जेठ ३१ गते १२:३४

काठमाडौं । तीनकुनेको हिंसाँत्मक प्रदर्शनका कमाण्डार दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतले ज्यान मुद्दामा प्रतिवादी बनाइएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश दिएसँगै उनीहरुलाई दिल्लीबजार कारागार चलान गरिएको हो ।

अदालतको आदेशअनुसार, दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई कारागार चलान भएका छन् ।

पूर्वराजाको समर्थनमा ०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार र अन्य एक जनाले ज्यान गुमाएका थिए । त्यस्तै आगलागी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

सो प्रकरणमा पक्राउ परेका ३२ जनालाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । यसअघि हाजिरी जमानीमा छुटेका राप्रपाका रवीन्द्र मिश्र, धवलशमशेर लगायतलाई फरार सूचीमा राखिएको छ ।

प्रतिक्रिया