युरोपेली सङ्घद्वारा युक्रेनी नागरिकको बसाईसराईको अधिकार सन् २०२७ को मार्चसम्म थप

काठमाडौं । युरोपेली सङ्घ (इयू)का सदस्य राष्ट्रहरुले रुस युद्धबाट भागेर आएका युक्रेनी शरणार्थीलाई दिइएको अस्थायी सुरक्षाको अवधि एक वर्ष थप गर्दै सन् २०२७ को मार्चसम्म इयूमा बस्न अनुमति दिएका छन् ।
जर्मनी, पोल्याण्ड र चेक रिपब्लिकले सबैभन्दा ठूलो समुदायलाई आश्रय दिएको छ भने करिब ४३ लाख युक्रेनी शरणार्थीका रूपमा इयूमा दर्ता भएका छन् ।
‘रुसले अन्धाधुन्ध हवाई आक्रमण गरेर युक्रेनी नागरिकलाई आतङ्कित बनाइरहेको छ तर इयूले आफ्नो ऐक्यबद्धता देखाइरहेको छ,’ पोल्याण्डका आन्तरिक मामिलामन्त्री टोमास्ज सिमोनियाकले भने ।
सन् २०२२ को फेब्रुअरीमा रूसले आफ्नो छिमेकी युक्रेनमाथि पूर्ण आक्रमण गरेपछि २७ राष्ट्रको समूहले युक्रेनीलाई अस्थायी सुरक्षा प्रदान गरेको थियो ।
गत हप्ता लक्जेम्बर्गमा आन्तरिक मामिला मन्त्रीहरूको बैठकमा सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने युरोपेली परिषद्ले ‘सर्वसम्मत समर्थन’ का साथ युरोपेली आयोगले प्रस्ताव गरेको यो कदमलाई समर्थन गरेको परिषद्ले जनाएको छ ।
मन्त्रीहरूले यस प्रणालीको अन्त्यको तयारीबारे पनि बहस सुरु गरेका छन् । केही युक्रेनीहरूलाई आफ्नो देशमा फर्कने अपेक्षा गरिएको छ भने धेरै अझै इयूको घेराभित्र नै रहने इच्छा प्रकट गर्ने देखिएको छ ।
अस्थायी सुरक्षाबाट लाभान्वित व्यक्तिहरूले इयूभरी आवासीय अनुमति, श्रम बजार र आवासमा पहुँच, चिकित्सा सहायता, सामाजिक कल्याण र शिक्षामा पहुँचजस्ता समान अधिकारहरू उपभोग गर्दछन् ।
इयू राष्ट्रहरूले द्वन्द्वको प्रारम्भिक चरणमा लाखौं युक्रेनीलाई खुला दिलले स्वागत गरेका थिए तर केही देशमा पर्खाइको धैर्यता कमजोर भएको सङ्केतहरू देखिन थालेका छन् । द्वन्द्व चौथो वर्षमा लम्बिदै जाँदा शान्ति प्रयास अस्तव्यस्त भएका छन् ।
युद्धका बेला किएभको कट्टर समर्थक र १० लाख युक्रेनी शरणार्थीको बसोबास रहेको पोल्याण्डले हालै राष्ट्रपति निर्वाचित गरेको छ जसले आफ्नो सुविधा कटौती गर्न चाहेको छ ।
करिब १२ लाख युक्रेनी शरणार्थी रहेको जर्मनीले पनि आप्रवासनमा राष्ट्रिय मनोदशा कडा हुँदै गएकाले लाभमा अङ्कुश लगाउने विचार गरिरहेको छ ।
प्रतिक्रिया