शनिबार, जेठ ३२, २०८२

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

नेपालखोज २०८२ जेठ ३१ गते १९:४१

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग चीनका राजदूत चेन सोङले आज शिष्टाचार भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कार्कीसँग राजदूत सोङको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो ।

याे अवसरमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा मुख्यमन्त्री कार्कीले कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्न राजदूत सोङलाई आग्रह गरे । उनले किमाथाङ्का-जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

याे अवसरमा राजदूत सोङले प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए । राजदूत सोङले किमाथाङ्का क्षेत्रमा चीन तर्फको सडक निर्माण सम्पन्न भएको र नेपालतर्फ काम हुन नसकेको विषयमा जिज्ञासा राखे ।

उनले नेपालतर्फको भागमा निर्माणमा ध्यान दिनुपर्ने कुरामा जोड दिएकाे मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ । राजदूत सोङ केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा छन् । उनले इलामलगायत प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोगमा सञ्चालित कार्यक्रमको निरीक्षण गरेका थिए ।

प्रतिक्रिया