‘नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिबद्ध छु’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्न आफू हरदम कटिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदले उठाएका जिज्ञासाबारे स्पष्ट पार्दै उनले आफूले गर्ने काम कारबाहीसँग असम्बन्धित विषयलाई स्वार्थवस् उठाइएको कुप्रचार भन्दै खेद प्रकट गरे । उनले सो विषयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।
सेवा प्रवाहको प्रभावकारिताका लागि संस्थागत र भौतिक पूर्वाधार सुधार महत्त्वपूर्ण रहेको जनाउँदै गृहमन्त्री लेखकले आफूले जिम्मेवारी सम्हालेपश्चात अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको जिकिर गरे ।
गृहमन्त्रीले विमानस्थल अध्यागमनसँग जोडिएको घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरिसकेको उल्लेख गर्दै अनुसन्धानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आयोगको अनुसन्धानबाट दोषी देखिएकालाई कानुनबमोजिम कारबाही हुने जनाउँदै मन्त्री लेखकले आयोगको निर्णयभन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतार नगर्न आग्रह गरे । स्वतन्त्र र सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकाले यसमा थप प्रष्टीकरण दिइरहनु नपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया