बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ ।आज साँझ बागलुङको ढोरपाटन नगरपालिका-५ अस्तुमा भएको जिप दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुलेको छ । दुर्घटनामा परी ढोरपाटन नगरपालिका-२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दुर्घटनामा घाइते हुनेहरुमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका-२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरु सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका-५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन-१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर गरी जम्मा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-२ का २७ वर्षीय को गोविन्द थापा र यात्रु १८ वर्षीया लुम्बिनी महतको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताए । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका-५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ ५:४५ बजे दुर्घटना भएको हो । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।
प्रतिक्रिया