कामपाले सुरु गर्यो नि:शुल्क मानसिक स्वास्थ्य परीक्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले विशेषज्ञससहित मानसिक स्वास्थ्य परीक्षण सुरु गरेको छ । यो सेवा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क सञ्चालन हुनेछ ।
कामपा स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’सम्बन्धी मानसिक रोगका साथै रक्सी तथा लागुपदार्थको कुलतमा फसेकालाई लक्षित गरी नि:शुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।
कामपा-११ का वडाध्यक्ष हीरालाल तण्डुकारले लुकाउने गरिएको मानसिक समस्याका बारेमा खुलेर उपचार गर्ने वातावरण बनाएर सम्भावित जोखिम घटाउन कामपाले परीक्षण सुरु गरेको जानकारी दिए ।
पाटन अस्पतालका मनोचिकित्सक डा अनिमा पराजुलीले आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दारी, छटपटी, मनमा धेरै कुरा खेल्ने, भोक तथा निद्रा नलाग्ने, दिशा, पिसाब गरिरहनेलगायत अस्वाभाविक परिवर्तन हुनु मानसिक समस्याका लक्षण रहेका बताए ।
मानसिक समस्यालाई समयमा पहिचान गरेर नियन्त्रण बाहिर पुग्नुअघि समाधानका उपाय खोज्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया