माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी छ महिनाभित्र महाविशेन सकेर सिङ्गो पार्टी निर्वाचनको तयारीमा होमिने बताएका छन् ।
माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अब बस्ने केन्द्रीय समिति बैठकपश्चात् महाधिवेशनको तयारी गरिने बताए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सम्पन्न भएपछि आगामी असारमा बस्ने केन्द्रीय समिति बैठकमार्फत महाविधेशनको तयारी गरिनेछ । अबको छ महिना पूरै महाधिवेशनमा केन्द्रित हुन्छौँ ।’
महाधिवेशनले राजनीतिक कार्यदिशाको थप विकास र परिमार्जन गर्ने र केन्द्रीय समितिको सङ्ख्या घटाएर १९९ मा ल्याउने उनको जिकिर छ ।
नेता श्रेष्ठले महाधिवेशनपश्चात् आसन्न निर्वाचनको तयारीमा केन्द्रित हुने बताए । ‘महाधिवशेनपछि आसन्न निर्वाचनका लागि नयाँ योजना बनाउँछौँ, उम्मेदवारको तयारी गर्छौं’, उनले भने, ‘मुलुकलाई अहिलेको सङ्क्रमणबाट मुक्त गरेर समृद्धिको लक्ष्यमा पु¥याएरै छाड्छौँ ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ‘भिजिट भिसा’का नाममा नेपाली नागरिकमाथिको ठगीसम्बन्धी मुद्दालाई पार्टीले नछाडेको स्पष्ट पारे । -रासस
प्रतिक्रिया