मधेशको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेश पर्यटन मिट’

वीरगञ्ज (पर्सा) । नेपाल पर्यटन बोर्डको अगुवाइमा मधेशको पर्यटन प्रवर्द्धनका लागि जनकपुर र वीरगञ्जमा ‘मधेश पर्यटन मिट’ कार्यक्रम गरिएको छ ।
‘मधेश पर्यटन मिट’ कार्यक्रमको शुक्रबार जनकपुरमा विविध कार्यक्रम गरेर शुभारम्भ गरिएकामा आज वीरगञ्जमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरेर समापन गरिएको हो ।
वीरगञ्ज महानगर, जनकपुर उपमहानगर र नाट्टा मधेश प्रदेशको समन्वयमा सो कार्यक्रम गरिएको हो । समापन कार्यक्रमको उद्घाटन सत्रमा आज वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मधेश प्रदेशमा रहेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।
‘मधेशमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र धेरै छन् । ती क्षेत्रमा भारतीयसहित विदेशी पर्यटकलाई आकर्षण गर्न सकेको खण्डमा प्रदेशको पर्यटन व्यावसायले फड्को मार्नेछ’, उनले भने ।
वीरगञ्ज आसपासका क्षेत्रमा पनि तीन रातसम्मपर्यटकलाई टिकाउन सक्ने पर्यटकीय सम्भावना बोेकेका क्षेत्र रहेका जनाउँदै प्रमुख सिंहले अहिलेसम्म वीरगञ्ज केवल बाटोका रूपमा मात्रै प्रयोग हुँदै आइरहेकामा चिन्ता व्यक्त गरे ।
प्रमुख सिंहले वीरगञ्जमा शङ्कराचार्यगेटदेखि पशुपतिनाथ मन्दिरलगायत धार्मिक तथा ऐतिहासिक पूर्वाधार भएकाले पर्यटन प्रवर्द्धनका लागि सबैले समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी पर्यटकीय क्षेत्र भएर पनि सङ्घ तथा प्रदेश सरकारले लगानी नगर्दा ओझेलमा परेको बताए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले मधेशमा पर्यटकीय सम्भावना बढी भएकाले सबैले हातेमालो गरेर पर्यटन प्रवर्द्धनमा जुट्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले प्रदेशमा भारतीय पर्यटकको गन्तव्यका रूपमा विस्तार गर्न आवश्यक रहेकामा जोड दिए ।
नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले पर्यटकीय गतिविधिलाई चलायमान बनाउन मधेश पर्यटन मिट कार्यक्रम अघि सारिएको बताए ।
टुरिजम एसोसिएसन विहारका अध्यक्ष एसके शर्माले नेपाल र भारतबीच ऐतिहासिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले दुवै मुलुकले एकापसमा समन्वय गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए । वानारसी टुरिजम बोर्डका सचिव सौरभ पाण्डेले रामायण सर्किटलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नुपर्ने बताए । -रासस
प्रतिक्रिया