सोमबार, असार २, २०८२

रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर पाइयाे : युक्रेन

नेपालखोज २०८२ असार १ गते १९:४०

किएभ, युक्रेन । युक्रेनले यसै महिनाको सुरुमा इस्तानबुलमा भएको वार्तामा भएको आदानप्रदान सम्झौताअन्तर्गत रुसबाट थप एक हजार २०० शव हस्तान्तरण भएको जनाएको छ ।

युद्धबन्दीको सहयोगका लागि गठित युक्रेनी सङ्गठनको मुख्यालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘रुसी पक्षले युक्रेनी नागरिक र सैनिकसहितको गरी थप एक हजार २०० शव युक्रेनमा फिर्ता गरिएको छ ।’

युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले फेसबुकमा लेखेका छन्, ‘यो साता चार हजार ८१२ शव फिर्ता गरिएको छ ।’ उनले भने, ‘म यस मानवीय मिसनमा संलग्न सबैप्रति आभारी छु ।’ युक्रेनले कुनै पनि शव रुसी पक्षलाई हस्तान्तरण गरेको छ वा छैन भन्ने बारे केही बताएको छैन ।

गत जुन २ मा इस्तानबुलमा भएको पछिल्लो चरणको प्रत्यक्ष वार्तामा दुवै पक्षले कैदी र मारिएका सैनिकको शवको व्यापक आदानप्रदान गर्ने सहमति जनाएका थिए । रुस र युक्रेन दुवैले सामान्यतया आफ्नो सैन्य क्षतिको खुलासा गर्दैनन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै वर्षको सुरुमा अमेरिकी समाचार संस्था एनबीसीलाई ४६ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको र तीन लाख ८० हजार भन्दा बढी घाइते भएको बताएका थिए ।

रुसले सन् २०२२ को सेप्टेम्बरसम्म छ भन्दा कम सैनिक मारिएको बताएको थियो । त्यसपछि उसले आफ्ना सैनिक मारिएको घोषणा गरेको छैन ।

स्थानीय अधिकारीहरू र परिवारका सदस्यहरूद्वारा मृत्यु घोषणाहरूको प्रकाशन जस्ता खुला स्रोतहरू प्रयोग गरेर धेरै स्वतन्त्र अनुसन्धानहरूले मस्कोतर्फ पनि ठूलो सङ्ख्यामा मृत्यु भएको रिपोर्ट गरेका छन् ।

रुसी वेबसाइट मिडियाजोना र बिबिसीको रुसी सेवाले मारिएका करिब एक लाख ११ हजार रुसी सैनिकको नाम पहिचान गरिएको जनाएको छ । -रासस/एएफपी

प्रतिक्रिया