दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

महोत्तरी । मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा पशुपालक किसानले दुधालु मानिएका मुर्रा जातको भैंसीपालन गरेका छन् । मधेस प्रदेश चाँडै दूधमा आत्मनिर्भर बन्ने अनुमान करिडोर कार्यालयको छ ।
आयोजनाले मधेसका पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गले छोएका ८४ स्थानीय तहलाई समेटेको छ । यी स्थानीयतहमा पाँच हजार भन्दाबढी किसान १७९ समूहमा आबद्ध छन् । यी समूहमध्ये व्यावसायिक कार्य योजना बनाएका ११० वटा समूह अनुदान प्रकृयामा छनोट भएका छन् ।
हाल ११० समूहमध्ये ५८ वटा समूहलाई व्यावसायिक कार्य योजनाअनुसार अनुदानको पहिलो किस्ता उपलब्ध गराइएको छ ।
यीमध्ये ५० समूहमा आबद्ध किसानले भैंसीपालनको योजना बनाएको कार्यालयले जनाएको छ । किसान समूह सबैभन्दा बढी रौतहटमा २४ वटा छन् । एक समूहमा १५ देखि ५० सम्म किसान आबद्ध छन् ।
यी समूहमा एक हजार ४०० माथि आबद्ध किसान छन् । हाल ती किसानले पालेका भैंसीबाट दैनिक २० हजार लिटर दूध उत्पादन भइरहेको छ ।
एक किसानले औसतमा मासिक आम्दानी रु २४ हजार आम्दानी लिने गरेका छन् । आयोजनाले प्रत्येक कार्ययोजनाको कूल लागतमा ४५ प्रतिशत अनुदान दिने र ५५ प्रतिशत समूहले व्यहोर्ने व्यवस्था छ ।
आयोजनाले यसअघि समूहमा आबद्ध किसानलाई पशुपक्षीसम्बन्धी सेवा दिन अत्याधुनिक सुविधासहितका ३५ वटा एकीकृत सेवा केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।
यी सेवा केन्द्र आयोजनाले रु ९१ करोडमा निर्माण गरिएको हो । यी सेवा केन्द्रबाट माटो परीक्षण, प्राङ्गारिक खेतीका लागि प्रयोगशाला, पशुको गोबर जाँच, उपचार र पशुपक्षीपालनका किसानलाई प्राविधिक सल्लाह सेवा प्रदान गरिँदै आएको छ । -रासस
प्रतिक्रिया