सोमबार, असार २, २०८२

जुद्धशम्शेरको घोडचढी सालिक

नेपालखोज २०८२ असार २ गते १०:३०

आजकै ठिक ७७ वर्ष अगाडि वि.सं. २००५ जेठ ३१ गते जावलाखेल चोकमा तत्कालिन श्री ३ मोहनशम्शेरले जुद्धशम्शेर राणाको घोडचढी सालिक अनावरण गरेका थिए । यो काठमाडौं उपत्यकामा राखिएको घोडचढी सालिकहरू मध्य श्रीपेच नलगाएको एक मात्र सालिक हो । पहिलो राणा श्री ३ तथा प्रधानमन्त्री जङ्गबहादुरबाट सुरु भएको घोडचढी सालिकको इतिहास अन्तमा अन्तिम राणा श्री ३ तथा प्रधानमन्त्री मोहनशम्शेर सम्म नै रह्यो ।

जङ्गबहादुरले सालिक बनाउने सोच बनाए पनि उनको जीवनकालमा सम्भव भएन । तर उनी पछि श्री ३ बनेका भाइ रणोद्वीप सिंहले श्री ३ जङ्गबहादुरको सालिक बनाउन लगाएका थिए । यो सालिक समयमा काठमाडौं आइपुगे पनि कहाँ राख्ने भन्ने निर्क्योल नभएको हुँदा सालिक करिब दुई वर्ष छोपेर नै राखिएको थियो । पछि रणोद्वीपको सालिक आइपुगे पछि दुवै सालिक एकै दिन वि.सं . १९४१ चैत १४ गते उद्घाटन गरिएको थियो । जङ्गको सालिक त्यो बेला धरहरा र भद्रकाली बिचको चोकमा राखिएको थियो भने रणोद्वीपको सालिक बागबजार चोकमा राखिएको थियो । यी दुवै सालिक अङ्ग्रेज मूर्तिकार थोमस ब्रकले बनाएका थिए ।

रणोद्वीपको हत्या गरी श्री ३ बनेका वीरशम्शेरले आफ्नो बुबा धिरशम्शेरको सालिक बनाउन लगाएर १९५० फागुन २८ गते, न्यूरोड गेटको अगाडि स्थापना गराएका थिए । वीरशम्शेर पछि चन्द्रशमशेरले दाजु वीरशम्शेरको सालिक बनाउन लगाएर बि.सं १९६४ वैशाख १६ गते वीर अस्पतालको अगाडि चोकमा स्थापना गराएका थिए ।

वि.सं . १९८६ को फागुन २ गते श्री ३ भीमशम्शेरकै समयमा राजा पृथ्वी वीर विक्रम शाहको सालिक रानीपोखरीको पश्चिममा स्थापना गराइएको थियो । यस सालिकको अनावरण राजा त्रिभुवनले गरेका थिए । यस भन्दा अगाडिका सालिक सबै बेलायती मूर्तिकार थोमस ब्रकले बनाएका भए पनि यो पछिका सालिकहरू भने बेलायतमा नै रहेका इटालीका मूर्तिकार डोमेन को एंटोनियो टोनेलीले बनाएका थिए ।

चन्द्रशमशेरले पनि आफ्नै जीवनकालमा आफ्नो सालिक स्थापना गर्ने चाहना राखेका थिए । तर दुर्भाग्य उनको सालिक पानीजहाजमा डुबेर नष्ट भए पछि निर्माताले नयाँ सालिक बनाएर पठाउँदा नेपालमा श्री ३ भीमशम्शेरको शासनकाल थियो । श्री ३ भीमले वि.सं. १९८६ को अन्तमा सैनिक अस्पतालको अगाडि चोकमा स्थापना गरेका थिए ।

जुद्धशम्शेरले दाजु श्री ३ देव शम्शेरको सालिक पनि बनाउन लगाएका थिए । यो सालिक जावलाखेलमा स्थापना गराएका थिए । जुद्धशम्शेरले टोनेलीलाई आफ्नो आमा जुहार कुमारीको तथा देवशम्शेरको रानीको पनि मूर्ति बनाउन लगाएका थिए । यी दुई मूर्ति जावलाखेलमा रहेको चिडियाखाना भित्र स्थापना गरिएको छ ।

उपत्यकामा रहेका घोडचढी सालिकहरूमा अन्तिम सालिक जुद्धशम्शेरको हो । यो सालिक जुद्ध शमशेरले आफ्नै शासनकालमा इटाली मूर्तिकार डोमेन को एंटोनियो टोनेलीलाई तैयार बनाउन लगाएका थिए । तर समयमा तैयार भएर आइ नपुग्दा पछि श्री ३ मोहनशम्शेरले यो सालिक जुद्धशम्शेरको दरबार रहेको जावलाखेलको चोकमा वि.सं. २००५ जेठ ३१ गते अनावरण गरेका थिए । यो सालिक स्थापनाको सम्पृण तैयारी जुद्धशम्शेरका छोरा नारायणशम्शेरले गरेका थिए । अन्य सालिकहरूमा सबैले श्रीपेच लगाएको देख्न सकिन्छ तर यस सालिकमा भने श्रीपेच लगाइएको छैन । सालिकमा टोपी लगाएको देख्न सकिन्छ ।

उपत्यकामा विभिन्न चोकहरूमा रहेको राणाकालीन सालिकहरू २०१७ सालमा राजा महेन्द्रको कोप भाजनको सिकार हुनुपरेको थियो । चोक चोकमा रहेका सालिकहरू बेलायती महारानी एलिजाबेथको भ्रमणको तैयारीको समय धेरै जसो सालिकहरू पुरानो स्थानबाट हटाएर टुँडिखेल र भद्रकाली नजिकै राखियो ।

प्रतिक्रिया