सोमबार, असार २, २०८२

एयर इन्डिया दुर्घटनापछि अवशेषहरूको प्रतीक्षामा आफन्तहरू

नेपालखोज २०८२ असार २ गते १३:३६

अहमदाबाद (भारत) । दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय स्वास्थ्य अधिकारीहरूले आफन्तहरूलाई आफ्ना प्रियजनहरूको शव हस्तान्तरण गर्न थालेका छन् । यद्यपि अधिकांश परिवारहरू अझै पनि डिएनए परीक्षणको नतिजाका लागि सोमबार प्रतीक्षा गरिरहेका छन् ।

पश्चिमी सहर अहमदाबादमा एयर इन्डियाको जेट दुर्घटना हुँदा मारिएका दुई सय ७९ जना मध्ये केहीको अन्त्येष्टि गरिएको छ भने अरूले पीडादायी प्रतीक्षाको सामना गरिरहेका छन् । उनीहरूले ४८ घण्टा लाग्छ भनेका थिए । तर चार दिन भइसक्यो र हामीले कुनै जवाफ पाएका छैनौँ, २२ वर्षीय रिनल क्रिश्चियनले भने । उनका दाजु जेटलाइनरमा यात्रु थिए । बिहीबार लन्डन जाने विमान अहमदाबादको आवासीय क्षेत्रमा ठोक्किँदा विमानमा सवार दुई सय ४२ यात्रु र चालक दलमध्ये एक जना मात्र बाँचेका थिए भने जमिनमा पनि कम्तीमा ३८ जनाको मृत्यु भएको थियो ।

‘मेरो दाजु परिवारको एकमात्र कमाउने व्यक्ति थिए’, क्रिश्चियनले आइतबार भने, अब के हुन्छ ? सहरको एक दाहसंस्कारमा करिब २० देखि ३० जना शोकाकुलहरूले लन्डनमा काम गरिरहेकी यात्रु मेघा मेहताको अन्त्येष्टि समारोहमा प्रार्थना गरे । अहमदाबादको सिभिल अस्पतालका डाक्टर राजनीश पटेलका अनुसार आइतबार बेलुकासम्म ८० दुर्घटना पीडितहरूको पहिचान भएको थियो ।

‘यो सावधानीपूर्वक र ढिलो प्रक्रिया हो, त्यसैले यो सावधानीपूर्वक मात्र गर्नुपर्छ’, पटेलले भने । आफ्नो नाम उल्लेख गर्न नचाहने एक पीडितका आफन्तले उनीहरूलाई कफिन प्राप्त गर्दा खोल्न नदिने निर्देशन दिइएको बताए । प्रत्यक्षदर्शीहरूले नराम्ररी जलेका शव र छरिएका अवशेषहरू देखेको बताएका छन् ।

कामदारहरूले आइतबार घटनास्थलबाट भग्नावेशष सफा गर्ने काम जारी राखेका थिए भने प्रहरीले क्षेत्रको निरीक्षण गरेको थियो । बोइङ ७८७–८ ड्रिमलाइनर विमान उडान भरेको केही समयपछि मेडिकल स्टाफले प्रयोग गरेको भवनमा ठोक्किएको थियो । विमानमा एक सय ६९ जना भारतीय, ५३ जना ब्रिटिस, सात जना पोर्चुगिज र एक जना क्यानाडाली तथा १२ जना चालक दलका सदस्य रहेको एयर इन्डियाले जनाएको छ ।

– हामीले जान्नुपर्छ –

भारतीय अधिकारीहरूले अझै पनि विपत्तिको कारण पहिचान गर्न सकेका छैनन् र एयर इन्डियाका ड्रिमलाइनरहरूको निरीक्षणको आदेश दिएका छन् । अधिकारीहरूले आइतबार दोस्रो ब्ल्याक बक्स, ककपिट भ्वाइस रेकर्डर, फेला परेको घोषणा गरेका छन् । यसले खोजकर्ताहरूलाई के गलत भयो भन्ने बारे थप सङ्केत दिन सक्छ ।

उड्डयनमन्त्री राम मोहन नायडु किन्जारापुले शनिबार पहिलो ब्ल्याक बक्स, फ्लाइट डाटा रेकर्डरको डिकोडिङले दुर्घटनाको परिस्थितिमा ‘गहिरो अन्तर्दृष्टि दिने’ आशा गरेको बताए । भग्नावशेषबाट एक व्यक्ति बेलायती नागरिक विश्वास कुमार रमेश जीवित निस्केका थिए । उनका भाइ पनि उडानमा थिए ।

आफ्नो भाइलाई फेला पार्न डिएनए मिलानको पर्खाइमा रहेका इम्तियाज अलीले एयरलाइन्सले परिवारलाई छिटो सहयोग गर्नुपर्ने बताए । ‘म उनीहरूसँग निराश छु । यो उनीहरूको कर्तव्य हो’, शनिबार एयरलाइनले सम्पर्क गरेका अलीले भने, ‘अर्को चरण यो दुर्घटनाको कारण पत्ता लगाउनु हो । हामीले जान्नुपर्छ ।’

प्रतिक्रिया