पूर्वाधार विकास समितिको टोलीले गरे ग्वार्को ‘ओभरपास’को निरीक्षण

काठमाडौं । सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ । आज समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन गरिएको हो ।
समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले ओभरपासको प्रगतिबारे जानकारी लिन निरीक्षण गरिएको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी शुक्रबार ओभरपास उद्घाटन गर्ने जनाएको छ । पटक–पटक म्याद थप हुँदै आएकोमा अब भने ओभरपास निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको छ ।
विसं २०७८ फागुन १२ गते ठेक्का सम्झौता भई निर्माण सुरु भएको उक्त फ्लाइओभर परियोजना विभिन्न चरणमा म्याद थप गर्दै २०८१ साल पुस ८ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
३० मिटर स्पान र चार लेनको पुलसहितको उक्त ओभरपास आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौँले निर्माण गरिरहेको छ । -रासस
प्रतिक्रिया