बिहीबार, असार ५, २०८२

विज्ञान प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न आवश्यक : अध्यक्ष दाहाल

नेपालखोज २०८२ असार ४ गते २०:०८

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण आवश्यक रहेको बताए ।

नेपालका युवामा रहेको सिर्जनशील सोच, सीप र क्षमतालाई देशमै प्रयोग गरी राष्ट्र निर्माणमा परिचालन गर्नुपर्ने बताउँदै उनले युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था न्यूनीकरणका लागि देशभित्रै भरोसा र अवसर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

यस्ता सम्मेलनले युवामा आशा र सम्भावनाको नयाँ आधार खडा गर्ने उनको भनाइ थियो । विज्ञान प्रविधिमा नेपाल अझै पछाडि रहेको स्वीकार गर्दै अध्यक्ष दाहालले अनुसन्धान पूर्वाधार, सरकारी तथा निजी लगानी, विश्वविद्यालय र प्रयोगशालाबीच समन्वय अभाव, नवप्रवर्तनको व्यवसायीकरण गर्न नीतिगत प्रोत्साहनजस्ता पक्षमा सुधारको आवश्यकता औँल्याए ।

उनले अनुसन्धान अनुदान, नवप्रवर्तन कोष, प्राविधिक शिक्षाको सुदृढीकरण तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि स्पष्ट संरचना निर्माण गर्न जोड दिए ।

अध्यक्ष दाहालले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले नीति निर्माण, पूर्वाधार विकास, जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, मिडिया काउन्सिल विधेयक सङ्घीय संसद्मा छलफलकै क्रममा रहेको र छिट्टै पारित हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा नवप्रवर्तनशील प्रविधिको प्रदर्शनीका साथै विविध वैज्ञानिक विषयमा विज्ञहरूमार्फत् विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । -रासस

प्रतिक्रिया