बिहीबार, असार ५, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

नेपालखोज २०८२ असार ५ गते १५:५४

काठमाडाैं । बाँकेको कोहलपुर नगरपालिका–५ प्रगती टोल बस्ने ४२ वर्षीय पदम विकको भे.१ ज १४४२ नम्बरको इभी हाईसले च्यापिएर बुधबार राति मृत्यु भएको छ । आफ्नो घर अगाडि गाडी रोकी घरको गेट खोल्ने क्रममा उक्त हाईस एक्कासी अगाडि बढी च्यापिएर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ रातामाटास्थित सडकमा ना. ६ ख ३२९९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राजेश्वर थापाको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित सडकमा ना.१ ज ७०४९ नम्बरको विङ्गरको ठक्करबाट साइकलयात्री मिथिला नगरपालिका–४ बस्ने ६० वर्षीय बिन्दे साह सुडीको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही ठाउँस्थित सडकमा छेउमा रोकी राखेको ना.६ ख ३२९९ नम्बरको ट्रकमा उक्त विङ्गर ठक्कर खाई अनियन्त्रित भई २ जना साइकलयात्रीहरूलाई ठक्कर दिई दुर्घटना भएको थियो । साथै ठक्करबाट घाइते भएका अन्य १ जना साइकलयात्रीको रामा अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

मोरङको विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकस्थित सडकमा को.१ क ९५३ नम्बरको टिपरले प्र.१–०१–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सुन्दरहरैंचा नगरपालिका–१२ बस्ने ५० वर्षीय सुशिल बजगाईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ्ग अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया