शुक्रबार, असार ६, २०८२

प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान

नेपालखोज २०८२ असार ६ गते ७:४२

बेनी (म्याग्दी) । बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र कापीकलम एकैसाथ बोकेर पस्नुहुन्छ । सामान्यतया खेतबारीमा घरेलु औजार बोकेर काम गर्न जाने प्रचलन रहे पनि थापा भने कृषिखेतीको सिकाइका लागि घरेलु कृषि औजारसँगै सिकेका कुरा टिपोट गर्न कापीकलम बोकेर खेतबारीमा पुग्न थाल्नुभएको हो ।

गत पुसदेखि आनन्दबगरका २५ जनाले थापाले जस्तै गरी कृषि पढिरहेका छन् । बेनी नगरपालिकाले किसानलाई प्राङ्गारिक उत्पादनको ज्ञान, सीप र क्षमताको विकास गर्न एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेपछि यहाँका किसान साप्ताहिक रूपमा खेतबारीमा सञ्चालन हुने पाठशालामा पढ्न पुग्छन् ।

आनन्दबगर आइपिएपम कृषक पाठशालामा आबद्ध सदस्यले सामूहिक रूपमा गोँलभेडाखेती गरेका छन् । व्यावहारिक रूपमा उचित बीउको छनोट, नर्सरी र खेती गर्ने जमिनको व्यवस्थापन, बाली लगाउने तरिका, मलजल, गोडमेल र फल उत्पादन भएपछि टिप्नेसम्मका ज्ञान, सीप पाठशालामा सिकाउने गरिएको छ । पाठशालामा बीउ जमाउने र बिरुवा लगाउनेदेखि फल टिप्नेसम्मका ज्ञानका साथै रोगकीराको स्थानीय उपचारका बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान सिक्ने अवसर मिलेको स्थानीय किसान सरिता बानियाँ खड्काले बताए ।

खेती गर्ने आधारभूत सीप सिक्नका लागि आइपिएम कृषक पाठशाला निकै प्रभावकारी भयो, रोगकीराको पहिचान र उपचारको तरिका र उपायसमेत सिक्यौँ, बानियाँले भने। यहाँका किसानलाई टनेल र खुला ठाउँमा गोँलभेडाखेती गर्न व्यावहारिक रूपमा तालिम दिइएको छ । पुसदेखि सुरू भएको पाठशालामा किसानले सामूहिक रूपमा लगाएको गोँलभेडा अहिले उपभोगयोग्य भएको छ । उत्पादन भएको गोँलभेडा पाठशालामा सहभागी किसानले बाँडेर उपभोग गर्ने र धेरै उत्पादन भएमा बिक्री गर्ने लक्ष्य लिइएको छ ।

बेनी नगरपालिका–४ डाँडाखेतको गोँलभेडाखेतीमा पनि आइपिएम कृषक पाठशाला सञ्चालन भइरहेको छ । यहाँका किसानले पनि तालिममा सिक्दै सामूहिक रूपमा लगाएको गाँेलभेडा अहिले लटरम्म फलेका छन् । खेती गर्ने प्रविधि आधुनिक र रोगकीराको उपचार गर्न अग्र्यानिक विधिबारे जानकारी पाएपछि यहाँका किसान उत्साहित भएका छन् । एउटा बाली विशेषमा किसानलाई निपूर्ण बनाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको हो । खेतबारीमा सञ्चालन हुने पाठशालामा किसानको हातबाट बीउ जमाउन तथा बिरुवा रोप्न लगाउने र उनीहरूकै हातबाट गोडमेल र स्याहार गरेर फलेको फललाई उपभोग र बजारीकरणसम्मको काम हुने भएकाले यो पाठशाला निकै उपयोगी बन्दै गएको छ ।

प्रतिक्रिया