शुक्रबार, असार ६, २०८२

‘मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्का घटना बढिरहेका छन्’

नेपालखोज २०८२ असार ६ गते १८:४२

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माणका संरचना बनाउने क्रममा मानवीय त्रुटि हुँदा मनसुनजन्य विपद्का घटना बढिरहेका बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित मनसुनजन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रममा उनले नीति तथा कानुनको उल्लङ्घन गरी भौतिक पूर्वाधार निर्माण अघि बढाएकाले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको धारणा राखे ।

उनले भने, पछिल्ला दिनमा मनसुनजन्य विपद्ले आर्थिक, भौतिक र मानवीय क्षति गरिरहेको छ । यसको मुख्य जिम्मेवारी हामी आफैँ रहेकाले यसप्रति सचेत भई सच्याउनु जरुरी छ ।

मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मीले समूहगत रूपमा नागरिकका घरमा पुगी सर्पदंश, आगलागी, बाढीपहिरोलगायत विपद्का जोखिमबाट बच्ने उपायका सम्बन्धमा जनचेतना जागृत गराउनु आवश्यक भएको धारणा राखे । उनले सरकार मानवीय जीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने विषयमा गम्भीर रहेको बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले पाँचवर्षे ‘प्रदेश विपद् व्यवस्थापन रणनीति कार्ययोजना’ कार्य अघि बढाएको जानकारी दिए । उनले प्रदेशका मनसुनजन्य अति जोखिम दुई हजार ४६६ घरपरिवारलाई स्थान्तरण कार्यमा स्थानीय तहको सहयोगमा कार्य सुरु गरिएको उल्लेख गरे ।

प्रतिक्रिया