बौद्धिक सम्पत्ति संरक्षण गर्न सरकार दृढ छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार बौद्धिक सम्पत्तिसम्बन्धी कानुन निर्माण गरी त्यसको अधिकार संरक्षणका लागि दृढ रहेको बताएका छन् ।
बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल र मिडिया आई प्रालिको आयोजना तथा संस्कृति मन्त्रालयको सहकार्यमा आज सिंहदरबारमा भएको बौद्धिक सम्पत्तिको अधिकार संरक्षणको अवस्था, चुनौती र अवसर विषयक अन्तर्क्रियामा मन्त्री पाण्डेले सरकारले पुरानो कानुनलाई प्रतिस्थापन गरेर नयाँ कानुन बनाउने चरणमा रहेको जानकारी दिए ।
कतिपय हाम्रा रैथाने परिचयहरू पनि बौद्धिक सम्पत्तिका रूपमा रहेका उल्लेख गर्दै मन्त्री पाण्डेले भने, इलामको चिया, भक्तपुरको जुजु धौ, जुम्लाको मार्सी, हुम्लाको सिमी छन्, मःम पनि हाम्रो आफ्नो सृजना हो । थकाली खाना पनि हाम्रो आफ्नो सम्पत्ति हो । यी विविध सम्पत्तीमाथि हाम्रो हक स्थापित गर्नुपर्छ र यसलाई कानुनी मान्यता दिलाउनुपर्छ ।
उनले बौद्धिक सम्पत्तिका विषयलाई कानुनमा व्यवस्थित गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै नेपालमा बहुआयामिक प्रकृतिका बौद्धिक सम्पत्ति रहेको र त्यसको संरक्षण अपरिहार्य भएको बताए । उनले साहित्यिक, कृषि उत्पादन र अन्य ट्रेडमार्कसम्बन्धीका बौद्धिक नेपालमा प्रशस्त रहेको बताए ।
उनले यो अन्तरराष्ट्रि विषय भएको र भूगोलले नछेक्ने हुँदा देशभित्र हाम्रो सम्पत्तिको संरक्षण र विकास गर्ने तथा देशबाहिर पनि आफ्नो परिचयलाई स्थापित गर्नुपर्ने अवस्था रहेको बताए ।
मन्त्री पाण्डेले भने, कानुन नभएकै कारण कतिपय सरोकारवाला पीडित पनि भएका होला, सरकारले सम्बोधन गर्ने हो, कानुन बनाउने र कार्यान्वयन गर्ने सन्दर्भमा सरकार गम्भीर हुनुपर्छ, बौद्धिक पुँजी संरक्षणमा सक्षम हुनेछौँ र हामी संरक्षणमा सामूहिक प्रयत्न गर्नेछौँ ।
प्रतिक्रिया