शुक्रबार, असार ६, २०८२

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

नेपालखोज २०८२ असार ६ गते १९:४९

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ बराबरको बजेट प्रस्तुत गरेको छ ।

महोत्तरी गाउँपालिकाद्वारा आज आयोजित १३ औँ गाउँसभामा अध्यक्ष दिलीपकुमार पाण्डेले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा मूलमन्त्र मान्दै ‘समृद्ध गाउँपालिका, सुखी गाउँपालिकावासी’ बनाउने उद्देश्यले आर्थिक वर्ष २०८२/८३ लागि ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ बराबर बजेट प्रस्तुत गरेको छु ।’

उनका अनुसार पालिकाले सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट नौ करोड ५२ लाख, सशर्त अनुदानबाट १४ करोड ५३ लाख, विशेष अनुदानबाट एक करोड र समपुरक अनुदानबाट एक करोड पाँच लाख प्राप्त हुने देखाइएको छ । त्यसैगरी प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानबाट ६६ लाख आठ हजार, सशर्त अनुदानबाट ८० लाख, विशेष अनुदानबाट ३० लाख र समपुरक अनुदानबाट २० लाख प्राप्त हुनेछ । सङ्घीय सरकारको राजस्व बाँडफाँटबाट रु आठ करोड ३९ लाख ४९ हजार एक सय ८४, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४९ लाख १६ हजार चार सय ४० र आन्तरिक स्रोतबाट रु सात करोड जुट्ने भएको छ ।

गाउँपालिकाले प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा गौरवको आयोजनामा गाउँपालिकादेखि सबै वडा हुँदै जिल्ला सदरमुकाम जलेश्वरसम्म पुग्ने बाटोमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रमलाई अघि सारेको छ । महत्त्वपूर्ण तथा महत्वकांक्षी योजनामा स्थानीय समुदायसँगको सहकार्यमा १५ शैय्याको अस्पताल निर्माणको लागि जग्गा प्राप्ति, छ हजार घर परिवारलाई एक घर एक विद्युतीय चुल्हो वितरण, गाउँपालिकाको सबै वडाको मुख्यमुख्य चौकमा सिसीटीभी जडान, वाइफाइ फ्री जोन बनाइनेलगायत कार्यक्रम राखिएको छ ।

त्यस्तै प्रत्येक वडामा शुद्ध खानेपानी, पार्क निर्माण, किसानका लागि शितगृह निर्माण, डीप ट्युववेल जडान, बजार व्यवस्थापनलगायत कार्यक्रमलाई गाउँपालिकाले महत्त्वका साथ अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

प्रतिक्रिया