आइतबार, असार ८, २०८२

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

नेपालखोज २०८२ असार ८ गते ५:२८

राँझा । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा तार जाली र बाख्राको सुरक्षित खोर निर्माण गरिएको छ ।

राप्ती सोनारी गाउँपालिका–९ मा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने महादेवा, बुच्चापुर, खैरहनी, गुरुवागाउँलगायतका टोलबस्तीमा तारजाली र बाख्राको सुरक्षित खोर निर्माण भइरहेको वडाध्यक्ष सोहनलाल थारूले बताए । उ

नका अनुसार बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरणको क्षेत्रमा कार्यरत संस्था जेडएसएल, इलम, इन्रुडेकलगायत संस्थाले राप्ती सोनारी–९ मा मात्र दुई सय १० सुरक्षित खोर र ३० गाईभैँसीको भकारो सुधार गरिएको छ ।

बाख्राको सुरक्षित खोर निर्माण भएपछि निकुञ्जसँग जोडिएको गाउँबस्तीमा चितुवा, बाघ तथा अन्य वन्यजन्तुबाट बाख्रा र भेडालाई जोगाउन सहज भएको राप्ती सोनारी–९ महादेवा गाउँका मानबहादुर दर्लामीले बताए ।

महादेवा गाउँकै हेम चापागाईँले गाउँमा चितुवा आएर भेडाबाख्रा खान थालेपछि भेडाबाख्रा पाल्न छाडेको किसानले पनि अहिले सुरक्षित खोर निर्माण भएपछि फेरि बाख्रापालन सुरु गरेको बताए । उनले सुरक्षित खोरमा बाख्रा र भेडा पाल्न थालेपछि वन्यजन्तुबाट घाइते हुने तथा मर्ने चिन्ता हटेको बताए ।

विश्व वन्यजन्तु कोष एकीकृत भूपरिधि व्यवस्थापन आयोजना ९इलम०अन्तर्गत डिभिजन वन कार्यालयमार्फत राप्ती सोनारी–८ पेरानीगाउँका ३० घरमा सुरक्षित खोर निर्माण गरिएका छन् ।

त्यसैगरी, बाँकेको कम्दी जैविक मार्गका ३० घरमा पनि बाख्राका लागि सुरक्षित खोर निर्माण गरिएका छन् । चितुवा, बाघलगायत जनावरले बस्तीमा आएर बाख्रा मार्न र घाइते बनाउन थालेपछि उनीहरूलाई जोगाउन सुरक्षित खोर निर्माण गरिएको एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका फिल्ड प्रबन्धक प्रकाश थापाले जानकारी दिए ।

कम्दी जैविक मार्गमा बँदेल, चित्तललगायतका जङ्गली जनावरबाट स्थानीयको अन्नबाली जोगाउन विभिन्न सामुदायिक वनक्षेत्र र बस्तीबीच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको छ ।

मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जनको स्रोत बाख्रापालन भएकाले स्थानीयको आयआर्जनमा टेवा दिने बाख्रापालनमा चुनौती थपिएपछि खोरलाई बलियो बनाउने अभियान चलाएर सुरक्षित खोर निर्माण गरिएको थापाले बताए । -रासस

प्रतिक्रिया