आइतबार, असार ८, २०८२

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल जारी

नेपालखोज २०८२ असार ८ गते १३:५४

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा सांसदहरूले बजेटलाई नागरिक र विकासमैत्री बनाउन माग गरे ।

विनियोजन विधेयक-२०८२ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनहरूले कतिपय मन्त्रालयको बजेट सन्तुलित नभएको भन्दै परिस्कृत गरेर लैजान सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

खर्च कटौतीको प्रस्तव राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले ‘भिजिट भिसा’ प्रकरणबारे अभिलम्ब छानबिन समिति गठन गर्न सरकारसमक्ष माग गरे । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई बजेटले उपेक्षा गरेको भन्दै बालबालिकको शिक्षा, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा तथा महिलाको अधिकार र सुरक्षाको सुनिश्चितताका लागि प्रयाप्त बजेट छुट्याउनुपर्नेमा जोड दिए ।

उनले खेलकुद क्षेत्रलाई पनि बजेटले उपेक्षा गरेको भन्दै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन हुन नसकेको उल्लेख गरे । सांसद पाण्डेले योजना बैंकमार्फत तीन करोड मुनिका योजना नहुने भनिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

माओवादी केन्द्रका गङ्गा कार्कीले बजेटमा उत्पादन वृद्धि र अनावश्यक खर्च कटौतीलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् । उनले आर्थिक कार्यक्रम सुधार, कृषि उत्पादन प्रवर्द्धन, खेलकुद र पर्यटन क्षेत्रको विकासलगायत क्षेत्रलाई विनियोजन विधेयकले प्राथमिकता नदिएको गुनासो गरिन् । उनले बजेटले दोलखालाई विभेद् गरेको बताइन् ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबाहदुर केसीले नेपालमा युवाहरूको स्थितिका बारेमा राज्यले जानकारी लिनुपर्ने बताए । उनले भने, अहिले नेपालमा युवाहरूको स्थिति कस्तो छ, हामीले हाम्रा युवालाई के पढाइरहेका छौँ ?, के सिकाइरहेका छौँ ?, हाम्रो शैक्षिकस्तर कस्तो छ ?, अहिले हाम्रा नयाँ युवालाई सिकाएको ज्ञान तिमी विदेश जान तयार हुनुपर्छ भन्ने सिकाइ त होइनरु त्यसैले शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक छ ।

प्रतिक्रिया