‘बजेटमा अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगर्ने परम्पराको अन्त्य जरुरी’

काठमाडौं । सांसदहरुले संसद्मा बजेटमाथि छलफल भएपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगर्ने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्दै सांसद रामहरि खतिवडाले बजेटमा छलफल गरिसकेपछि अर्धविराम र पूर्णविराम पनि परिवर्तन नगरी पारित गर्न नहुने बताए ।
छलफल भएपछि बजेटमा भएका त्रुटि सच्याउनुपर्ने उनको माग छ । ६८ वर्ष पुगेका ज्येष्ठ नागरिक भत्ता ७० वर्ष पु¥याउने विषयलाई अहिलेकै व्यवस्थाअनुसार ६८ वर्ष नै कायम गर्न सांसद खतिवडाले जोड दिए ।
सांसद रामकृष्ण यादवले हुलाकी राजमार्ग र यसअन्तर्गतका पुल अलपत्र बनेको बताए । शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण विकास मन्त्रालय राख्न उनले माग गरे ।
सांसद बिजुला रायमाझीले विकास निर्माणमा समानुपातिक सांसदलाई विभेद गरिएको बताउँदै यसमा धेरै महिला परेको सुनाए । महिला, बालबालिकाका क्षेत्रमा बजेट वृद्धि गरिनुपर्ने उनको माग थियो ।
सांसदद्वय सूर्यप्रसाद ढकाल र मुक्ताकुमारी यादवले बजेटमा भएका त्रुटि सच्याउनुपर्ने, राजनेताको सम्मान गरिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया