‘नागरिकहरुको जीवनस्तर उकास्न पुँजीवादी व्यवस्था’

पाटन (ललितपुर) । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरुको जीवनस्तर उकास्ने उदारवादी र पुँजीवादी व्यवस्था भएको बताएका छन् ।
नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्रीय विभागद्वारा यहाँ आयोजित बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डा. बच्चुकैलाश कैनीसँगको अन्तरक्रियामा महामन्त्री थापाले नेपाली कांग्रेसले तल्लो तहका नागरिकको जीवनस्तर उकास्न उदारवादी र पुँजीवादी व्यवस्थाका पक्षपोषण गरिरहेको बताए ।
नेपालले अनुशरण गरेको प्रणाली भनेको बेलायती संसदीय प्रणाली भएको उल्लेख गर्दै उनले संसदीय प्रणालीमा आफ्नो ठूलो विश्वास रहेको बताए । उनले लेबर पार्टीसँग नेपाली कांग्रेसको भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै पुराना पार्टीहरु सङ्कटमा भएको अवस्थामा बेलायतमा लेबर पार्टी पनि सङ्कटमा छ भन्ने देखिएको बताए ।
सन् १९९५ मा लेबर पार्टीले बेलायतमा निजी सम्पत्तिको विषय र उदारवादी विषयका कुरामा उत्साहित हुँदै गर्दा आफूहरुले पनि त्यहीँ विषय उठाएको बताए ।
‘बेलायतको लेबर पार्टीले तीनवटा निर्वाचन जितेर आफ्नो धार कायम गरेको छ । हामीले पनि २०४८ सालमा जितेपछि उदारवादी नीति ल्याएकै हो, ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा पर्याप्त बजेट गएकै हो,’ उनले भने ।
बेलायतको लेबर पार्टीका नेता डा बच्चुकैलाश कैनीले आफू सन् २०१२ मा लेबर पार्टीसँग जोडिएको बताए । नेपाली मूलका कैनी प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य व्यवस्थापन विज्ञ र राजनीतिकर्मी छन् । उनले कुनै समय नेविसङ्घ तनहुँको सचिव समेत भएका थिए ।
त्यस अवसरमा बेलायतको लोकतन्त्र र लेबर पार्टीको सञ्चालन प्रणालीबारे विश्लेषण र अनुभव, लोकतन्त्रको अभ्यास, पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीति निर्माण प्रक्रिया, विविध समुदायको सहभागिता र उत्तरदायित्वपूर्ण नेतृत्वबारे डा कैनीले अनुभव सुनाएका थिए । -रासस
प्रतिक्रिया