शनिबार, वैशाख १३, २०८२

सातामा ५१ दशमलव ४९ अंक बढ्यो शेयर बजार, १४ अर्बभन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज २ गते १९:४९

काठमाडौं । यो साता शेयर बजार ५१ दशमलव ४९ अंक माथी उक्लिएको छ । साताको पाँच दिनको कारोबारमा बजार चार दिन बढेको थियो । मंगलवार एक दिन मात्र घटेको बजार साताको अन्तिम दिनमा १ हजार ५७२ दशमलव १८ विन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से १ हजार ५२० दशमलव ६९ विन्दुमा थियो ।

गत साताको तुलनामा यो साता सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव १२ विन्दुले बढेको छ । ठुला कम्पनीहरुको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यो साता ३१२ दशमलव ५० विन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिन सेन्सेटिभ इन्डेक्स ३०१ दशमलव ३८ विन्दुमा रहेको थियो ।

यो साता १४ अर्ब २८ करोड ९७ लाख ९८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो साता गत साताको भन्दा कारोबार रकम २ अर्ब ७६ करोड ७१ लाख ५८ हजार रूपैयाले बृद्धि भएको हो । गत साता ११ अर्ब ५२ करोड २६ लाख ४० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यो साता ४ करोड २३ लाख ४३ हजार ६७१ कित्ता शेयर खरिद विक्री भएको छ । गत साताको तुलनामा यो साता १ करोड ५३ लाख ६७ हजार ५३९ कित्ता बढी शेयर कारोबार भएको हो । गत साता २ करोड ६९ लाख ७६ हजार १३२ कित्ता शेयर कारोबार भएको थियो ।

५१ अंकले बढेको साताको बजारमा कुल बजार पूँजीकरण रकम पनि ६८ अर्ब ४५ करोड ७० लाख रूपैयाँले बृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन २० खर्ब २१ अर्ब ७४ करोड ९० लाख रूपैयाँ रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम दिन २० खर्ब ९० अर्ब २० करोड ६० लाख रूपैयाँ पुगेको हो । कुल बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको हो । पछिल्लो समय शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको उत्साहजनक सहभागीता देखिन थालेको छ । पूर्ण अनलाईन प्रविधिबाट कारोबार गर्न सकिने यो बजारमा हरेक दिन नयाँ नयाँ रेकर्ड बन्दै गएको छ । यो साता अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण उच्च कायम हुँदा हालसम्मकै सर्वाधिक कित्ता शेयर कारोबार भएको छ । बिहीवार १ करोड ३२ लाख १६ हजार २३४ कित्ता शेयर कारोबार भएको हो ।


धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्य सर्वाधिक बजार पूँजीकरण नेपाल दुरसञ्चार कम्पनीको रहेको छ । नेपाल दुरसञ्चार कम्पनीको शेयरको कुल बजार पूँजीकरण रकम रू. १ खर्ब ६ अर्ब ८० करोड रहेको छ । कुल बजार पूँजीकरणको सबैभन्दा बढी हिस्सा यस कम्पनीले ओगटेको हो । शेयर बजारमा नेपाल दुरसञ्चार कम्पनीको १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ । दोस्रो बजारमा यो कम्पनीको प्रतिकित्ता अन्तिम शेयरमूल्य ७ सय १२ रूपैयाँ रहेको छ ।

यस साता सर्वाधिक कारोबार गर्ने दश कम्पनीमध्य पहिलो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यस निरन्तर रुपमा सर्वाधिक कारोबार गर्दै आएको छ । यो साता नेपाल पुनर्बीमा कम्पनीको ८२ करोड ४० लाख ८६ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो । साताको पाँच कारोबार दिननै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार गर्दै आएको यो कम्पनीको प्रतिकित्ता अन्तिम शेयरमूल्य ८ सय ७६ रहेको छ ।

प्रतिक्रिया