निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याइने : मन्त्री पौडेल

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साउनदेखि निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विनियोजन विधेयक २०८२ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित विनियोजित शीर्षकहरु माथि उठेका सवालहरुको जवाफ दिँदै मन्त्री पौडेलले निर्माण सम्पन्न भएका आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा सङ्घीय सरकारबाट चिकित्सकसहित औजार उपकरण उपलब्ध गराई साउन १ गतेदेखि सञ्चालनमा ल्याइने उनले बताए । मन्त्री पौडेलका अनुसार साउन १ गतेदेखि निर्माण सम्पन्न करिब ७० आधारभूत अस्पताल सञ्चालनमा ल्याइनेछन् ।
उनले भने, ‘निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण सुरु नभएका स्थानीय तहमा सुरुआत गर्न रणनैतिक स्थानको म्यापिङ्ग गर्ने कार्य भइरहेको छ । आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ स्वीकृत गरी लागू गरिएको छ । सोही बमोजिम कार्यान्वयनका लागि बजेट रु एक अर्ब विनियोजन गरिएको छ ।’
मन्त्री पौडेलले मन्त्रालयले आगामी आवको बजेटबाट नै व्यवस्थापन गर्नेगरी क्रमशः ५ वर्षभित्रमा १२ हजार स्वास्थ्य जनशक्ति थप गर्न हरेक वर्ष दुई हजार ५०० जनशक्ति बढाउने गरी तयारी सुरुआत गरिएको बताए ।
प्रतिक्रिया