सोमबार, असार ९, २०८२

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

नेपालखोज २०८२ असार ९ गते १८:१९

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिएका छन् । आज गृहमन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावानी मन्त्री लेखकले दिएका बताए ।

मन्त्री लेखकले अध्यागमन सुधारका लागि विगतको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न जोड समेत दिए । बैठकमा अध्यागमनको सुधारका लागि एक महिनायता भएको प्रयास र पहलकदमीका विषयमा मन्त्री लेखकले जानकारी लिएका थिए ।

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित मन्त्रालयअन्तर्गत विभिन्न विभागीय प्रमुख, महाशाखा प्रमुखलगायतका उच्च पदस्थ कर्मचारी सहभागी थिए । अध्यागमन कार्यालयको भिजिट भिषाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि अनुसन्धान भइरहेको छ । -रासस

प्रतिक्रिया