डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

नवलपुर । डिभिजन वन कार्यालय नवलपुरले आजदेखि विभिन्न प्रजातिका बिरुवा वितरण सुरु गरेको छ । डिभिजन वन कार्यालय नवलपुरको कावासोतीस्थित नर्सरीमा निःशुल्क वितरण सुरु गरेको हो ।
डिभिजन वन कार्यालय नवलपुरले वार्षिक स्वीकृत कार्यक्रमअनुसार उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको कार्यालयका सूचना अधिकारी वन अधिकृत शिशिर लम्सालले जानकारी दिए ।
गत वर्ष र यस वर्षगरी वनको नर्सरीमा एक लाख २५ हजार बिरुवा भए पनि यस वर्ष बहुवर्षीय बिरुवा उत्पादन कार्यक्रमका १० हजार बिरुवा आगामी वर्षमात्रै वितरण गरिने लम्सालको भनाइ छ ।
वनको नर्सरीमा विशेषगरी कपुर, गुलमोहर, वीरेन्द्र फूल, म्याङ्गोस्टिक, धुपी जस्ता सौन्दर्य प्रदान गर्ने बिरुवासहित टिमुर, कुरिलो, हर्रोबर्रो, चिउरी, अमलासहितका औषधीय बिरुवा उत्पादन गरिएको लम्सालको भनाइ छ ।
कार्यालयले आफ्नो नर्सरीमा विभिन्न ३२ प्रकारको बिरुवा उत्पादन गरेको उल्लेख गर्दै लम्सालले व्यक्तिगत, वन समूह, शैक्षिक संस्था, पार्क र अन्य संस्थालाई मापदण्ड बनाएर बिरुवा वितरण सुरु गरिएको बताए ।
कार्यालयले तोकेकोभन्दा बढी बिरुवा लैजान फाराम भर्ने सेवाग्राहीले भने बिरुवा लगाउने क्षेत्रफल र वडा कार्यालयको सिफारिस लिएर आउनुपर्ने लम्सालको भनाइ छ । कार्यालयबाट लगिएको बिरुवा वृक्षरोपण गरी हुर्काइएको वा नहुर्काइएकोबारे अनुगमन गरिनेसमेत उनले बताए ।
आजदेखि सुरु भएको बिरुवा वितरण एक महिनासम्म जारी रहनेछ । डिभिजन वन कार्यालयले विगतका वर्षमा आँप, लिची तथा कागतीलगायत फलफूलका बिरुवासमेत वितरण गर्ने गरेकामा यस वर्ष भने बजेट नपर्दा फलफूलको बिरुवा वितरण गर्न नसकिएको उनले बताए ।
अहिले वनको आफ्नै नर्सरीमा उत्पादन भएका अमला, तेजपात, किम्बु, धुपी, कपुर, वीरेन्द्र फूल, कल्की फूल, रुख कटहर, बेल, टिमुर, कुरिलो, हर्रो, बर्रो, चिउरी, पारिजात, निमारो, बाँस, पीपल, सितचिनी, रक्तचन्दन, सिन्दुर, निम, टिक, अम्बा, बडहर, लप्सी, घिउकुमारी, मेन्डोला, भटमासे, श्रीखण्ड, टाँकी, गोल्ड मोहर र म्याङ्गोस्टिन प्रजातिका बिरुवा वितरण सुरु गरिएको लम्सालले बताए । -रासस
प्रतिक्रिया